पाँचथर । शनिबारदेखि झण्डै एक साता पाँचथर खेलकुदमय हुने भएको छ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा पाँचथरबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि शनिबारदेखि विभिन्न १५ वटा विधामा खेलाडीबीच प्रतिस्पर्धा हुन लागेको हो ।
पाँचथर जिल्ला खेलकुद विकास समितिले पाँचथर जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि सबैखाले तयारी अन्तिम चरणमा पुर्याएको समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।
‘आगामी महिना पोखरामा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता र यही महिनाको दोस्रो सातादेखि हुने १ नं प्रदेशस्तरीय छनोट प्रतियोगितालाई मध्यनजर गरेर पाँचथर मा खेलाडी छनोटका लागि प्रतियोगिता हुँदैछ’, अध्यक्ष मोक्तानले भने, ‘बढीभन्दा बढी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने गरी तयारी गरिएको छ ।’
शनिबार रणशेर दल गणको भलिबलकाेर्टमा भलिबल खेल मार्फत प्रतियोगिता शुभारम्भ हुने बताइएको छ । पहिलो दिन सिद्धदेबि माबि नवमिडाँडाको खेलमैदानमा फुटबल र रणशेर दल गणको भलिबल कोर्टमा भलिबल , ब्याटमिटन कोर्ट फिदिममा ब्यटमिटन र तेक्बान्दो खेलको छनोट हुने बताइएको छ ।
झण्डै ४ सय खेलाडी सहभागी हुने जिल्लास्तरीय यस प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, टेबल-टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, , बुद्धिचाल, आईटीएफ तेक्वान्दो, खेलहरु हुने पाँचथर जिल्ला खेलकुद समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।