झापा । भद्रपुर नगरपालिका ४ का १४ वर्षीय बालक करण गिरी घरमै मृत भेटिए । हिजो विद्यालयमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा विजेता भएका करण हर्षित थिए । तर, जितको खुसी बाँड्न नपाउँदै उनी मृत अवस्थामा भेटिए ।
१४ वर्षीय बालकले अस्वाभाविक रुपमा टाइको पासो लगाई आत्महत्या गरेको घटनाले छरछिमेक स्तब्ध बनेका छन् । करणले हिजो बेलुका घरको ढोकाको हेन्डलमा टाईको पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् ।
बेलुका साढे ४ बजेतिर झुन्डिएको अवस्थामा उनकी आमाले देखेपछि उपचारका लागि मेची अस्पताल लाँदै गर्दा मृत्यु भएको जनाइएको छ । मोर्डन अंग्रेजी स्कूलको कक्षा ८ मा उनी अध्ययनरत थिए । विद्यालयबाट घर फर्किएर उनले आत्महत्या गरेका हुन् । सो घटनाले आफूहरुलाई चकित बनाएको विद्यालयका प्रिन्सिपल मंगल थापा मगरले बताए ।
१४ वर्षीय बालकले टाईको पासो लगाई झुन्डिनु अस्वाभाविक भएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले मृतक बालकको शवलाई पोस्टमार्टमका लागि पठाइएको जानकारी दिए । आत्महत्या गर्नुको कारण खुलिनसकेको उनले बताए ।