दिपक बोहोरा ।
पाँचथरमा आयोजना हुने पूर्वको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप आयोजना हुन नसकेको ३ वर्ष भयो । कारण एउटै छ, खेलमैदानको अभाव । गोल्डकप आयोजना हुँदै आएको फिदिम मा.बिको खेलमैदान भत्तिकिए पछि पुःन निर्माणमा ढिलाइ भए पछि यि गोल्डकप मात्र होइन पाँचथर सदरमुकाममा हुने अधिकांश खेलकुद गतिबिधि ठप्प भएका छन् ।
खेलाडीहरुले अभ्यास गर्न पाएका छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी अभ्यास गर्ने खेलमैदान समेत सरदमुकाम फिदिममा छैन् । सदरमुकाम फिदिममा खेलमैदानको अभाव भए पछि नवौं राष्ट्रिय खेलकुदको छनोट तथा अभ्यास खेलहरु सदरमुकाम बाहिर आयोजना गर्नु पर्ने अवस्था आएको छ ।
रङशाला बनाउने भनेर २ वर्ष अगाडी तामझामाका साथ शिल्यानास गरेको खेलमैदानको अवस्था करिब २ वर्ष पछि पनि बेहाल छ । १० करोड ६३ लाख ५७ हजारमा ठेक्का लागेको खेलमैदानको काम असार मसन्तमा सक्ने सम्झौता थियो । १७ महिनाको सम्झौता यही असारमा सकिए पनि खेलमैदान निर्माणको कामको प्रगति न्यून रहेको छ । हालसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको बताइन्छ ।
काम हुँदाहुँदै बीचैमा छोडिएको छ । खेलमैदानमा माटो थुप्रिएको छ, झार उम्रिएको छ। पाँचथर सदरमुकाम फिदिममा फुटबल प्रतियोगिता तथा लगायतका अन्य गतिविधि हुने फिदिम खेलमैदानलाई व्यवस्थित रंगशाला बनाउने कामले गति नपाउँदा स्थानीय चिन्तित छन् ।
ताप्लेजुङमा खेल मैदानको अभावको कारण सधै हुँदै आएको लाखेजात्राको अवशरमा सञ्चालन गरिने पाथिभरा गोल्डकप फुटवल प्रतियोगिता यसवर्ष भएन । वि.स २०२९ सालदेखि विभिन्न नाममा निरन्तर रुपमा फुटबल खेल हुँदै आएको थियो । गत दुईवर्ष भने कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न सकेको थिएन । विगतका वर्षमा खेल सञ्चालन गरिने भानुजन माध्यमिक विद्यालयको खेलमैदान अहिले लथालिङ्ग छ । विद्यालयले कम्पाउण्ड लगाउने लगायतका काम गरिरहेकाले खेलमैदान प्रयोग गर्न नसक्ने अवस्थामा आए पछि आयोजकले यस पटक फुटबल प्रतियोगितानै आयोजना गरेन्न ।
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्रकुमार माबोका अनुसार जिल्लामा हुने खेलकुद प्रतियोगिताहरु र खेल अभ्यासको लागी खेलमैदान अभाव रहेको बताउछन् । नवौं राष्ट्रिय खेलकुदको लागी छनोट खेल आयोजना गर्न र खेलाडीहरुलाई अभ्यास गर्न समस्या रहेको बताए ।
मेचि पहाडकै इज्जवतको रुपमा रहेको इलामको माइभ्याली गोल्डकप हुने इलामको ठुलो टुडिखेलको अवस्था पनि नाजुक रहेको इलामका खेलकुदकर्मिहरु बताउछन् । नेपाल आर्मीको स्वमित्वमा रहेको खेलमैदानको तल्लो भागमा पहिरो गए पछि इलामका प्राय खेलकुद गतिबिधि ठप्प रहेको अखिल नेपाल फुटबल संघका निर्वतमान केन्द्रिय सदस्य निरोज खड्कीले जानकारी दिए । खेलमैदानको अभावमा सामान्य अभ्यास खेलहरु भन्दा बाहेकका गतिबिधि गर्न नसकिएको उनले बताए ।
खेलमैदान व्यवस्थित गर्न र हुन नसक्दा मेचि पहाडी जिल्लाका प्रतिभाशालि खेलाडीहरुले अवसर गुमाउदै आएको फुटबल प्रशिक्षक पासाङ तामाङले बताए । केहि महिना अगाडी भएको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा समेत मेचि पहाडी जिल्लाहरुको प्रर्दशन फितलो हुन्नुको मुख्य कारणनै खेलमैदान अभाव रहेको उनले बताए । ‘पहाडी जिल्लामा अभ्यास गर्न मैदाननै छैन् अनि कसरी नतिजा ल्याउने ?’ तामाङले भने ।