‘अल्ट्रा टाइट’ अँगालो हालेको पाँच दिनपछि ती महिलाको छाती असाध्यै दुख्न थाल्यो । उनी अस्पताल नगई बस्न सकिनन् । एक्स रे गरेर हेर्दा उनको एउटा मात्रै नभई तीनवटा करङ भाँच्चिएको पत्ता लाग्यो । दुईवटा दाहिने पट्टी र एउटा देब्रे पट्टी । छाती दुखेपछि उनी बाध्यतावश घर बस्नुपरेको, घर बस्दा कमाई नभएको र मेडिकल बिल र नर्सिङ सेवाका लागि राम्रै रकम खर्च भएको उनले बताएकी छिन् ।
उनी निको हुने क्रममा करङ भाँचिदिने पुरुष सहकर्मी उनलाई भेट्न गए । त्यतिबेला यी दुईले कुरा मिलाउन खोजे तर कुनै कुरामा सहमति हुन सकेन र कुरा बिग्रियो । आफ्नो आत्मीय अँगालोले नै महिलाको करङ भाँच्चिएको कुनै पनि प्रमाण नभएको भन्दै ती पुरुष सहकर्मीले निहुँ खोज्न थाले ।
तसर्थ ती महिलाले आफ्ना सहकर्मी विरुद्ध युयाङ सिटीस्थित युनजी अदालतमा मुद्दा दर्ता गरिन् । अँगालो हालेपछि करङ भाँच्चिएको र यसका कारण आफूले आर्थिक घाटा वहन गर्नुपरेको भन्दै क्षतिपूर्तिको मागदाबी गरेकी छिन् ।
मुद्दाको सुनुवाईको क्रममा ती पुरुषलाई न्यायाधीशले १५ सय डलर क्षतिपूर्ति प्रदान गर्न आदेश दिए । करङ भाँच्चिएको भनेर पाँच दिनपछि पत्ता लागेपनि त्यो अवधिमा महिलाले हड्डी भाँचिन सक्ने कुनै पनि गतिविधिमा भाग लिएको प्रमाण नभएको अदालतले जनाएको छ । यसका साथै, अँगालो हालेपछि महिलाको पीडादायी प्रतिक्रियाबारे अन्य सहकर्मीले अदालतमा बयान दिएका थिए ।
यो घटनाले चिनियाँ सामाजिक सञ्जालमा बहससमेत सुरु गरेको छ तर अधिकांशले महिलाको अवस्थाप्रति सहानुभूति व्यक्त गरे र साथीभाइ सहकर्मीलाई अभिवादन गर्दा सतर्क रहन पनि सुझाए ।