वीरगन्ज । प्रेम गरेको रिसइबीमा हत्या गरी शव भारत पुर्याइएको पाइएकाे छ । त्यस घटनाकाे विरोधमा आज बिहान वीरगन्जमा प्रर्दशन गरिएको छ ।
बाराको विश्रामपुर गाउँपालिका इटियाहि बस्ने मोतिलाल ठाकुरका छोरा १६ वर्षीय राजकुमार ठाकुरको हत्या गरिएको हाे । साेकाे विरोधमा स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका हुन् । हत्यामा संलग्न सबै व्यक्तिहरुलाई प्रहरीले पक्राउ नगरेको भन्दै मृतकका आफन्त तथा गाउँलेले प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका छन् ।
गत २४ गते घरबाट ट्युशन पढ्न हिँडेका राजकुमार ठाकुरको वीरगन्जस्थित नगवामा हत्या गरी शव भारत पुर्याइएको प्रहरीको अनुसन्धानबाट खुलेको हाे । हत्यामा संलग्न रहेका गाउँकै कृष्णा पटेलका छोरा उतम पटेल र प्रितम पटेललाई पर्सा प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएकाे थियाे ।
प्रेम गरेको रिसइबीमा ठाकुरको हत्या गरिएकाे र शव बोरामा हालेर भारतको रक्सौलबाट ट्रेनमा हाली विहारकोे भागलपुर पुर्याएको पक्राउ परेका व्यक्तिहरुले प्रहरी समक्ष बयान दिएका छन् ।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको पहलमा मृतकको शव पर्सा प्रहरीले शनिबार साँझ भागलपुरबाट वीरगन्ज ल्याएको छ । नारायण अस्पतालमा राखिएको शवको पोष्टमार्टमपछि आवश्यक कारबाही अगाडि बढाइने पर्सा प्रहरीले जनाएको छ ।