झापा । झापाको कचनकवल गाउँपालिका–५ मा एउटै रूखमा झुन्डिएको अवस्थामा भेटिएका तीन किशोरीले अगाडिदेखि नै आफन्त र साथीलाई आत्महत्या गर्ने बताउँदै आएको प्रहरीले दाबी गरेको छ । ८ साउनमा कचनकवल-५ स्थित सुनकोसी चिया बगाननजिकै एक रूखमा १७ वर्षीया करिना गणेश, १८ वर्षीया अञ्जली गणेश र १७ वर्षीया कल्पनाकुमारी गणेशको शव झुन्डिएको अवस्थामा फेला परेको थियो । उनीहरू त्यही चियाबगानमा मजदुरको रूपमा काम गर्दै आएका थिए ।
घटना शंकास्पद भएको आवाज उठेपछि प्रदेश १ का प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले अनुसन्धानमा सहयोग गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाको नेतृत्वमा ११ साउनमा अनुसन्धान सहयोग समिति गठन गरेका थिए । समितिले करिब २० दिन लगाएर अनुसन्धान गर्दा ती किशोरीहरू अगाडिदेखि नै आत्महत्या गर्ने योजनामै रहेको निष्कर्ष निकालेको छ ।
उनीहरूले कामको सिलसिलामा भारतको पञ्जाबमा रहेका एक आफन्त र दुई नजिकका साथी गरी तीन किशोरलाई टेलिफोन सम्पर्कमा करिब एक महिनादेखि बारम्बार मर्ने कुरा गर्ने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।
प्रहरीले ती तीन किशोरीलाई ६ दिनअघि पञ्जाबबाट झिकाएर सोधपुछसमेत गरेको छ । ती तीन किशोरी केही वर्षअघिदेखि रोजगारीका क्रममा भारतको पञ्जाब रहेको उनले बताए । ‘हामीले उनीहरूसँग कुरा भएको होला भन्ने अनुमान लगाएका थियौँ । त्यो सत्य रहेछ । उनीहरूलाई केही समयदेखि ती किशोरीले आत्महत्या गर्ने बताउँदै आएका रहेछन्,’ उनले भने, ‘ती किशोरहरूले पनि सम्झाएछन् । तर, फोनमा त्यसै भनेको होला भन्ठानेछन् । पोस्टमार्टममा संलग्न डाक्टरहरूले पनि शंका गर्नुपर्ने त छैन, तर सबै रिपोर्ट आएपछि मात्र थाहा हुन्छ भनेका थिए । भिसेरा पनि परीक्षण गर्न पठाएका छौँ । सबै रिपोर्ट आएपछि मात्र थाहा हुन्छ । कतैबाट पनि कमजोरी नदेखियोस् भन्ने हाम्रो उद्देश्य हो ।’
यद्यपि, आत्महत्याको कारण भने खुलिनसकेको उनले बताए । अनुसन्धानमा सहयोग गर्ने समितिको प्रतिवेदन आएपछि मात्र आत्महत्याको कारण खुल्ने उनले बताए । ‘समितिले प्रतिवेदन तयार पार्दै छ । प्रतिवेदन आएपछि मात्र कारण भन्न सकिन्छ,’ उनले भने ।
प्रहरीले ती किशोरीको मोबाइल पनि परीक्षणका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब पठाएको थियो । त्यहाँबाट आएको रिपोर्टका माध्यमबाट प्रहरी ती किशोरहरूसम्म पुगेको हो । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार प्रतिवेदन आउन अझै एक साता लाग्छ ।
ती तीन किशोरले जानकारी हुँदाहुँदै पनि परिवारलाई जानकारी नगराउँदा अकल्पनीय घटना भएको ती प्रहरी बताउँछन् । ‘करिनाले ती किशोरलाई यस्तै रहेछ जिन्दगी ! मसँगै मेरा दुई साथी पनि मर्दै छौँ भनेको पाइयो,’ उनले भने । प्रतिवेदन लेख्ने तयारीमा रहेको अनुसन्धान समितिका एक सदस्यले घटनाका कारण गरिबी र पारिवारिक अवस्था रहेको जानकारी दिए । नयाँ पत्रिकाबाट