धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ७ का निवर्तमान वडाध्यक्ष लक्ष्मण खतिवडाका कारण उक्त क्षेत्रका जनता अन्धकारमा बस्नुपर्ने भएको छ । यसअघि नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षसमेत रहेका खतिवडाले जनतासँग विद्युत महशुलबापत उठाएको पैसा आफ्नो बैंक खातामा राखेर विद्युत प्राधिकरणलाई भुक्तानी नगरिदिएपछि विद्युत प्राधिकरणले लाइन काटिदिएको हो ।
स्थानिय रेशम श्रेष्ठका अनुसार खतिवडाले जनताबाट उठाएको २३ लाख रुपैयाँ आफ्नो नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा राखेर विद्युत प्राधिकरणलाई भने एक पैसा पनि भुक्तानी दिएका छैनन् । रकम भुक्तानी नभएकै कारण गत साउन ८ गतेदेखि सिद्धलेक ७ चामडाँडा, भालडाँडा र भैँसे पोखरी क्षेत्रका एक सय ३ घरका जनता अध्याँरोमा बस्न बाध्य भएका छन् ।
त्यति मात्रै होइन खतिवडाले २०६९ सालमा घरघरमा मिटर ल्याउँछु भन्दै प्रतिघर १८ सय रुपैयाँको दरले पैसा उठाएर हालसम्म पनि मिटर जडान गरेका छैनन् । उनी अमिरछाप सामुदायिक विद्युतीकरणका अध्यक्षसमेत हुन् । आफू वडाध्यक्ष रहँदा जनतालाई आश्वासन मात्रै दिएका उनले शक्तिकेन्द्रलाई रिझाएर उन्मुक्ति पाएका थिए । तर, केहीदिनदेखि विद्युत नभएपछि स्थानियबासीले उनलाई नियन्त्रणमा लिएर वडाध्यक्ष सानो गिरीको कार्यकक्षमा लिएर गएका थिए । त्यसपछि उनले जनताबाट आफूले रकम उठाएको स्विकार गरेका थिए । उनी गत वैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार समेत बनेका थिए । तर, उनलाई जनताले दण्डित गरिदिएका थिए ।
विद्युत प्राधिकरणले न्युनतम शुल्क ३० रुपैयाँ निर्धारण गरेपनि खतिवडाले जनतासँग प्रतियुनिट ९० रुपैयाँ उठाउँदै आएका छन् । नेपाल विद्युत प्राधिकरण धादिङका प्रमुख माधव न्यौपानेले सिद्धलेक गाउँपालिका ७ स्थित उक्त सामुदायिक उपभोक्ता समितिले लामो समयदेखि विद्युत महशुल भुक्तानी नगरेको बताए । उक्त समिति सहित ३ वटा समितिले प्राधिकरणलाई भुक्तानी नगरेको उनले बताए ।
जनताको पैसा उठाएर आफ्नो खातामा लुकाउने पूर्व वडाध्यक्ष लक्ष्मण खतिवडालाई यो विषयमा प्रश्न गर्दा उनले शुरुमा पैसा तिरिसकेको बताए ।
दियाेपाेष्टबाट