मोरङ । धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको कारोबार तथा सम्पत्ति रोक्काका लागि धरान उपमहानगरपालिकाले विभिन्न निकायमा पत्राचार गरेको छ।
सर्वसाधारणको रकम फिर्ता गर्न नसकेर विवादमा मुछिदै आएको उक्त सहकारीका सञ्चालक, कर्मचारी र लगानी भएको ११ वटा कार्यक्रमको बैंक खाता र सम्पत्ति रोक्का गर्न उपमहानगरको छानबिन समितिले मालपोत कार्यालय, वित्तिय संस्था तथा बैंकहरुमा सिफारिस पठाएको छ।
छानबिन समितिकी सदस्य हेमा थलङका अनुसार बराह सहकारीका पीडितकै मागअनुरुप समितिले सोमबार विभिन्न निकायमा सम्पत्ति रोक्काको सिफारिस गर्ने निर्णय गरेको जानकारी दिइन्। उनका अनुसार सहकारीसँगै, बराह ज्वेलरी, डिपार्टमेन्ट स्टोर, बराह कृषि उपज तथा पशुपालनलगायतका कार्यक्रमको सम्पत्ति रोक्काको प्रक्रिया अघि बढाइएको हो।
आइतबार उपमहानगरपालिकामा पीडितले मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघाविरुद्ध नाराबाजी गर्दै आक्रोशित भएपछि समितिको बैठक बसेको थियो।
उपमहानगरपालिकामा न्यायको आग्रह गरिरहँदा मेयर साम्पाङले खरो अभिव्यक्ति दिएको पीडितहरुको गुनासो छ। उनीहरुका अनुसार मेयरसमक्ष बराहविरुद्ध गुनासो राखिरहँदा मेयर साम्पाङले सोधेर पैसा राखेको हो? भन्ने अभिव्यक्ति दिएको आरोप लगाएका थिए।
त्यसपछि उपमहानगरभित्रको वातावरण केही समय तनावग्रस्त बनेको थियो। त्यसपछि मेयर साम्पाङले भक्तिराज शर्माको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए।
deshsanchar