काठमाडौं । अर्थमन्त्री जर्नादन शर्मामाथि लागेको आरोपको छानबिन गर्न संसदीय समिति बनाउने तयारी भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका एक सांसद्ले बाह्रखरीलाई दिएको जानकारी अनुसार सभामुख अग्नि प्रसाद सापकोटा, केही मन्त्री तथा सत्तारुढ दलका सचेतकहरुबीच अहिले पनि छलफल जारी छ ।
छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तथा सत्तारुढ दलभित्रै पनि छानबिन समिति बनाउनुपर्ने माग उठेकाले समिति गठनको विषयमा छलफल भइरहेको ती सांसद्ले जानकारी दिए ।
“छानबिन समिति बनाउनकै लागि भनेर बैठक सारिएको हो । समिति बनाउने गृहकार्य भइरहेको छ,” ती सांसद्ले भने । उनका अनुसार समिति बनेलगत्तै अर्थमन्त्रीले राजीनामा दिनुपर्ने विषय पनि छलफलमा उठेको छ । बिहान ११ बजेका लागी बोलाइएको बैठक २ बजेका लागि सारिएको छ ।