काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको दाबी गरेका छन् । उनले एकता र विभाजनको श्रृङ्खला पार गर्दै पूर्वमाओवादीहरू एक ठाउँमा आउने परिस्थिति निर्माण भएको बताए ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एकताको वातावरण बनेर छिट्टै टुंगोमा पुग्ने अवस्था सिर्जना भएको दाबी गरे ।
‘हामी केही समयदेखि एकता र विभाजनको जे श्रृंखला पार गरेर यहाँ आइपुगेका छौँ, अहिले । हाम्रो माओवादी आन्दोलनभित्र पनि विभाजनको एउटा श्रृंखला र एकताको नयाँ प्रक्रिया हुँदै अब करिब करिब कस्तो ठाउँमा आइपुगेका छौँ भने सबै पूर्वमाओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण भएको छ । अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ । छिट्टै त्यो टुंगोमा पुग्दैछ । त्यसको असर विभिन्न जनसंगठनहरुमा पनि पर्नु स्वभाविक हो पर्छ । मलाइ लाग्छ कर्मचारीभित्र पनि बिस्तारै बाँकी रहेका साथीहरू एकीकृत हुने अवस्था बन्छ’, उनले भने ।
विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको उनको भनाइ थियो । उनले आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेकोले परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा जोड दिए ।शिलापत्र