काठमाडौं । पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ताप्लेजुङ्गको काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ । बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।पूर्वी नेपालका नदी तथा खोलामा बाहव अन्य क्षेत्रको तुलनामा धेरै बढेको छ ।
सो क्षेत्रमा यसअघि नै एसएमएस अलर्ट पठाइसकिएको विभागले जनाएको छ । उक्त नदीको तटीय क्षेत्रमा बस्नेलाई सतर्क हुन पनि विभागले आग्रह गरेको छ ।
प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।
नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ । मसुन सुरु भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ ।