विराटनगर । प्रदेश १ सरकारले प्रदेशसभामा अज पेश गर्ने बजेट दुई घण्टा ढिलो हुने भएको छ । प्राबिधिक कारणले २ बजे पेश गर्ने भनिएको बजेट करिब ४ बजेमात्र पेश हुने भएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेका अनुसार बजेटको समय केहि ढिला हुनेबारे प्रदेशसभालाई जानकारी गराईसकिएको छ । प्रदेशसभा नियमावली अनुसार निर्धारित बैठक २ घण्टासम्म ढिलो गर्न सकिन्छ । तर, २ घण्टासम्म बैठक सुरु नभएमा सूचना टाँस गरि सचिबालयले बैठकको अर्को समय तोक्नुपर्छ ।
स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयको सर्भरमा केहि समस्या देखिएपछि बजेटको इन्ट्रीमा ढिलाई हुँदा बजेट पेश हुने समय सरेको हो । प्रदेशसभा सचिबालयले ३ः४५ बजेसम्मा बजेट पेश गर्नेगरि बैठक सुरु गर्ने तयारी गरेको छ । ४ बजेसम्म बैठक सुरु नभएमा सूचना टाँसेर प्रदेशसभाले बैठकको अर्को समय तोक्नेछ ।
संविधान र कानून अनुसार बजेट आजै प्रदेशसभामा प्रस्तुत हुनुपर्छ । संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि सबै प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछन् । प्रदेश १ को बजेट ३८ अर्बमाथिको हुने अनुमान गरिएको छ ।