ताप्लेजुङ । शनिवार जिल्ला समन्वय समितिको प्रमुख पदका लागि उम्मेदवारी दर्ता भएको गंगाराम शंकरको उम्मेदवारी फिर्ता भएको छ । माओवादी केन्द्रको ताप्लेजुङ जिल्ला समितिकै भाषामा‘ यसअघि स्थानीय तहका लागि बितरित सिफारिसको दुरुपयोग’गरी दर्ता गराईएको भनिएको उम्मेदवारी आइतबार फिर्ता भएको छ ।
माओवादी केन्द्रको १ नं प्रदेश कमिटीका अध्यक्ष हर्क नेम्बाङ९मिक्सो०द्धारा हस्ताक्षरित पत्रका आधारमा शंकरको उम्मेदवारी फिर्ता भएको ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस प्रकाश राउतले जानकारी दिनुभयो । अब जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनतर्फ नेकपा एसका छिरिङ शेर्पा र एमालेबाट निवर्तमान जिसस प्रमुख घनेन्द्र मादेनको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्थानीय तहका लागि बितरित सिफारिसको दुरुपयोग गरी शंकरको उम्मेदवारी दर्ता भएको माओवादी केन्द्रको जिल्ला समन्वय समितिले बिज्ञप्तीमार्फत जनाइसकेको छ । माओवादी केन्द्रको भागमा परेको जिसस प्रमुख र १ जना सदस्यका लागि १ नं प्रदेश कमिटीले क्रमशः फक्ताङलुङ गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पा र सिरिजंगा गाउँसभा सदस्य सन्तोष राईको सिफारिस पत्र पठाएको र शंकरको उम्मेदवारी दर्ता गर्दा सिफारिसपत्रको दुरुपयोग भएको भन्दै माओवादीको जिल्ला समन्वय समितिले बिज्ञप्ती निकालेसंगै प्रदेश कमिटीले शंकरको उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएको थियो ।
‘जसको हस्ताक्षर सहितको पत्रका आधारमा उम्मेदवारी दर्ता भयो,उहाँकै सिफारिस पत्रका आधारमा फिर्ताको निर्णय भएको छ’मुख्य निर्वाचन अधिकृत राउतले भन्नुभयो । पार्टीको पत्रका आधारमा शंकरको उम्मेदवारी फिर्ता र आधिकारिक उम्मेदवार भनेर दावी गरिएका मिङ्माडण्डुको उम्मेदवारी दर्ता नै नभएसंगै गठबन्धन दलबीच नेकपा माओवादी केन्द्रले पाउने गरी सहमति भएको जिल्ला समन्वय समितिको प्रमुख पद माओवादीले गुमाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिसस उपप्रमुखमा नेपाली काँग्रेसका कृष्ण लिङखिमको मात्र उम्मेदवारी परेको छ । दलित वा अल्पसंख्यकबाट जाने १ सदस्यमा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका १ र नेकपा एमालेका १ जना गरी २ जनाको उम्मेदवारी दर्ता भएको छ । ३ जना महिला सदस्य कोटामा गठबन्धनतर्फ काँग्रेसका ३ र एमालेका १ गरी ४ जनाको उम्मेदवारी परेको छ ।
खुल्ला ३ सदस्यमा गठबन्धतर्फ एमालेका २ तथा गठबन्धनतर्फ माओवादी केन्द्रका १,नेकपा एसका १ र नेपाली काँग्रेका १ गरी ५ जनाको उम्मेदवारी परेको छ । १८ जनाले मतदाता रहेको जिल्ला समन्वय समितिको जेठ ३१ गते हुने निर्वाचनमा एमाले र काँग्रेसका समान ६–६,माओवादी केन्द्रका ५ र नेकपा एसका १ जना मतदाता रहेका छन् । यसअघि समन्वय प्रमुख र १ जना सदस्य माओवादी केन्द्रले,उपप्रमुख नेकपा एसले र ६ जना सदस्य नेपाली काँग्रेसले पाउने गरी गठबन्धन दलहरु बीच सहमति बनेपनि माओवादी केन्द्रकातर्फबाट शंकरको उम्मेदवारी दर्ता प्रकृया र गठबन्धन पक्षबीच यसअघि बनेको सहमतिमा बदलाव आएको हो ।