गुल्मी । उनी पोखरेल थरकी (जैसी क्षेत्री) ब्राह्मणकी छोरी हुन्, जो यसपालीको स्थानीय तह निर्वाचनमा गुल्मीको एक वडाबाट ‘दलित महिला सदस्य’मा निर्वाचित भएकी छन् ।
झट्ट सुन्दा जैसी ब्राह्मणकी छोरी दलित महिला सदस्यमा कसरी निर्वाचित भइन् भन्ने प्रश्न उब्जिएला । तर उनले दलित महिला सदस्य हुने अधिकार प्राप्त गरेकी छन् ।
किनकि उनले दलित समुदायका युवासँग अन्तरजातीय विवाह गरेकी छन् । उनी हुन् गुल्मीको धुर्कोट गाउँपालिका– ६ धुरगाउँकी २१ वर्षीया मिना पोखरेल परियार ।
जसले २०७४ सालमा आफ्नै छिमेकी नारायण परियारसँग १६ वर्षको उमेरमा प्रेम विवाह गरेकी थिइन् । त्यस वडामा उनीसहित दलित महिला सदस्यका लागि तीन जना महिलाहरुले उम्मेदवारी दिएका थिए ।
स्वतन्त्र उमेदवारका रुपमा मधु दर्जी । नेपाली कांग्रेसबाट पार्वती बिक र नेकपा माओवादी केन्द्रबाट उनै मिना पोखरेल परियार दलित महिला सदस्यका उमेदवार थिए ।
अन्तिम मत परिणम यस्तो आयो कि स्वतन्त्र उमेदवार मधु दर्जीले जम्मा २४ मत प्राप्त गरिन् । निकटतम प्रतिद्धन्द्वी कांग्रेसकी पार्वती बिकले ४२६ मत ल्याइन् । माओवादीकी उनै मिना पोखरेल परियारले भने ८९९ मत प्राप्त गरिन् । अर्थात् कांग्रेसकी बिकलाई पोखरेल परियारले दोब्बर भन्दा बढी मतान्तरले पराजित गर्दै विजय प्राप्त गरिन् । उनले बिकलाई ४७३ मतले पराजित गरेकी हुन् ।
यसरी त्यस वडामा सबैभन्दा पपुलर मतले विजयी भएकी मिना पोखरेल परियार भन्छिन्– ‘म त चुनाव लड्न मानेकी थिइन्, प्ुष्कर सरले कर गरेर निकै हौसला दिनुभयो । उहाँकै प्रेरणबाट उठेँ । तर जितौँला भन्ने लागेको थिएन र पनि यति धेरै मतले जित्न पुगें । निकै खुशी लागेको छ ।’ उनले छिमेकी शिक्षक तथा पत्रकार पुष्कर खड्काको प्रेरणामा आफूले जनप्रतिनिधि हुने अवसर पाएको भन्दै खड्कालाई धन्यवाद दिइन् ।
शिक्षक तथा प्रेस सेन्टर नेपालका सदस्य समेत रहेका पुष्कर खड्का भन्छन्, ‘मिनाले छिमेकमै अन्तरजातिय विवाह गरेर सदियौंदेखि जातीय विभेदको जञ्जिर तोड्दै समाजको सामना गरिन् । त्यसयता पनि उनले महिलामाथि र दलितमाथि हुने अन्याय, अत्याचारविरुद्ध महिलाहरुलाई संगठित गर्दै सशक्त ढंगले सामाजिक सेवा सक्रियता देखाइरहिन् ।
जातीय रुपमा कुनै समय कट्टर मानिएका उनका माइती जैसी ब्रम्हण पोखरेल परिवारबाट दलितका छोरासँग विवाह गर्दा उनले खासै ठुलो चुनौती मोल्नु परेन । धुर माविमै कक्षा १० मा पढ्दापढ्दै उनको नारायण परियारसंग विवाह भएको थियो ।
मिना भन्छिन्– ‘धुर माविमै पढ्दा देखि नै मैले माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सदस्यता लिएकी थिएँ । क्रमशः माओवादीको राजनीति निकै मन प¥यो, संगठित हुँदै गएँ । अहिले वडा सदस्यमा धेरै मतान्तरले जितेपछि आगामी दिनमा अझ माथि पुग्छु कि भन्ने हौसला जागेको छ ।’
गुल्मीमा अहिलेसम्म प्राप्त जानकारीअनुसार उनी सबैभन्दा कान्छी विजयी उमेदवार पनि हुन् । उनको वडामा उनको पार्टी माओवादी केन्द्र र एमाले बीच गठबन्धन हुँदा एमालेका कृष्ण नेपालीले पुनः वडाध्यक्ष जितेका छन् ।