मिलन बोहोरा
तिराप अञ्चलमा दुईदिन: संस्मरणमा रम्बास कविताको शङ्खनाद्
तैल नगरी डिग्वईदेखि ३५ कि.मि. पूर्वतिर रहेको तिराप अञ्चल भन्नाले लेखापानी, उदयपुर , रामपुर, जागुन, विष्णुपुर, जयरामपुर आदि नेपालीभाषी जाति र असमका अरू जनजाति अध्युषित अञ्चललाई बुझिन्छ। गोर्खाबहुल यस भेकमा जसरी चिया र तामुल (सुपारी) फस्टाएको छ साहित्य र संस्कृति पनि उत्तिकै मौलाएको छ- उहिल्यैदेखि। रुचिवान, शिक्षित र सम्पन्न गोर्खाहरूसँग भलाकुसारी गर्न पाउँदा र न्यानो आतिथ्यता पाउँदा गर्व लाग्यो -यो भेकलाई लिएर। हाम्रो कार्यक्रमको लागि यो ठाउँ जागुन नामले प्रचार भएतापनि हाम्रो मञ्च उदयपुर थियो – त्यहाँको रङ्गमञ्चमा हुने “साहित्य-संस्कृति समारोह २०२२।
जागुन् होइन, जागुन त जागिसकेको रहेछ। नजागुन् पनि किन? दोस्रो विश्व युद्धमा ‘जयमाया’ आफैँमात्र बर्मादेखि आइपुगेपछि लिजेण्डस्वरूप इन्द्र बहादुर राईले कल्पेर अमर पारेको लेखापनि यहीँ छ। यहाँका मात्रै होइन बाहिरकालाई पनि झकझकाइ रहँन्छे ‘जयमाया’। त्यसैले होला हरिभक्त कटुवाल यहाँ आउनुभयो। विक्रमवीर थापा आउनुभयो। भुपेन हाजरिका आउनुभयो। ए.पि.जे अब्दूल कलम आउनुभयो। लीलबहादुर छत्री आउनुभयो। आइरहनुभएकोछ। यो ठाउँ नै रहेछ आकर्षक- गोर्खाको त्यागको इतिहास, साहित्य, संस्कृति, परम्परा, जातीय चेतना, प्रगति आदिले बोलाउँदो रैछ। यहीँकै नरसिं थापाले १९४८मा नेपाली पत्रिका ‘हिमाद्री’ प्रकाशनको इतिहास बोकेको ठाउँ हो यो। यहाँ साहित्य संस्कृति उमार्ने मलिलो माटो छ।
हामी पनि आयौँ २०२२ सनको २३-२४ अप्रेलमा।उपलक्ष- दुई वर्ष अघिदेखि लेख्न थालिएको नयाँ उपविधा रम्बास कविताको शङ्खनाद् गर्नु।
आकर्षक पृष्ठभूमि र व्यक्तित्वका मालिक मुकेश रेग्मीको सभापतित्वमा भर्खरै गठन भएको “नेपाली साहित्य विकास समिति, तिराप”ले तैयार पारेको उद्घोषस्थली सरह उदयपुर रङ्गमञ्चमा हामीले फुक्यौँ रम्बास कविताको शङ्ख।
खडानन्द शर्मा दुलाल र पुरुषोत्तम उपाध्याय दाहालले हामीलाई पाञ्चजन्य शंख दिनुभयो- ‘वर पिपल’को रूपमा- प्रकाशक बनेर। उद्घोष गर्न आइपुग्नु भयो नेपाली साहित्य जगतको अग्रिम पंक्तिमा उभिने कलमकार युद्धवीर राणा, झापा, नेपालदेखि दीपक सुवेदी, डा. सुकराज दियाली र आआफ्नो रम्बास कविता सङ्कलन लिएर डा. जगनाथ उपाध्याय, अर्जुन उप्रेती, गीताश्री शर्मा र गिरीधारी उपाध्याय लगायत थुप्रै रम्बासकवि। साथमा आयो यो अकिञ्चन- रम्बास कविता उपविधाको प्रणेता।
२०२० सनको अप्रिल महिनामा कोरोनाकालिन लकडाउन समयमा जन्मिएको रम्बास कवितालाई स्याहार-सूसार गर्दै 92 जना घरदेश, परदेशका काव्य साधकले जन्माई राखे रम्बास कविता अनि सबै अँटाउने छहारी बन्यो ‘वरपिपल’। देश विदेशका कविमन भेला भए। असम,अरुणाचल प्रदेश, सुदुर नेपाल, दार्जीलिङ, खरसाङ, सिलिगुढी र सिक्किमदेखि थुप्रै रम्बास कवि आए। असमको सृष्टि रम्बास कविताले यत्रो सम्मान र माया पाउँदा धन्य भयौँ। धन्यवाद छ ‘नेपाली साहित्य विकास समिति’, असम नेपाली साहित्य सभा, भारतीय गोर्खा परिसंघ, आग्सु र समस्त तिराप अञ्चलवासीलाई।
नेपाली साहित्यको विशाल भाँडोमा केही थोप्ला काव्यरस हामीले थप्न पाएजस्तो लाग्यो।२३-२४ अप्रेलमा चर्चा भयो। रम्बास कविता उपविधालाई एक आयामेली कविताको रूपमा प्रतिष्ठा गर्न सैद्धान्तिक अवधारणाको घोषणापत्र तैयार भयो, ग्रहण भयो सर्व सम्मतिले। असमदेखि सृष्टि भएको यो रम्बास कवितालाई एउटा नयाँ उपविधाको रूपमा स्थापित गर्न यो अनिवार्य पनि थियो। यस्तो कामको गुरुदायित्व लिएर दीपक सुवेदी र देवीचरण सेडाइँले कहिल्यै बिर्सिन नसक्ने सैद्धान्तिक टेवा दिनुभएको छ।
यो साहित्य संस्कृति समारोहमा सिलिगुडी, पश्चिम बंगालका थुप्रै पुरस्कारले पुरस्कृत कवि डा.सुकराज दियालीले भन्नु भएको थियो -“असम देखि कविताको एक नयाँ सुर्य उदाएको छ रम्बास कविताको रूपमा। भावना र आकृतिको कलात्मक सङ्गम बनेर आएको यस शैलीले तिरापको भूमिदेखि आनुष्ठानिक यात्रा गरिसकेको छ। विश्वमा एक प्रकारको उत्सुकता उत्पन्न गर्ने यस नौलो आयामेली कविताले असमको छुट्टै परिचय दिनेछ। धन्य छ तिरापको उदयपुर।” उहाँले भन्नुभयो – ” उत्तरआधुनिक कालमा प्रयोग गर्नु भनेको साहित्यमा विविधता ल्याउनु हो। रम्बास शैलीको कविता सृष्टि एउटा ऐतिहासिक काव्य सृष्टि हो। असमले साहित्यमा एउटा अर्थपूर्ण आयामेली आन्दोलन गरेको छ भन्न सकिन्छ।”
साहित्यिक समालोचक दीपक सुवेदीले रम्बास कविताको उत्कर्षको लागि नेपाली साहित्य विकास समिति, तिरापले आयोजना गरेको समारोहको उद्देश्यलाई महत्त्व दिँदै भन्नुभयो -“रम्बास कविता जस्ता अभिनव व्यतिक्रमी कविता सिर्जना गरेर असम नेपाली साहित्य जगतमा कौतुहल सृष्टि गरेको छ। यही गतिले अझ विभिन्न साहित्य पनि मौलाए एकदिन नेपाली साहित्यले असमतिर हेर्नैछ, जागुनतिर हेर्नेछ। यहीँदेखि चाख्नेछन् नयाँ-नयाँ स्वादहरू।
तिराप अञ्चल एक साहित्य नगरीको नामले जानिनेछ।” रम्बास कविताको चर्चा सुनेर यसको बारेमा जान्नभनि दार्जिलिङको खरसाङ देखि आइपुग्नुभएछ बाल साहित्यमा एकाडेमी पुरस्कार पाउने सुदर्शन अम्बाटे। साहित्यको मोहले खिँचेर ल्याएछ नेपालका कलाकार साहित्यिक भरत गुरागाइँ, बर्बरिक, रोहिणी रसिक, शिवनारायण पण्डित सिंगल र प्रमोद ढकाललाई। जागुनको काव्य भूमिमा एउटा अद्वितीय सिर्जना आफ्नो ‘वनस्पति कथा-यात्रा’ कृति लिएर आइपुग्नु भयो रेवती रमण सापकोटा।
रम्बास कवि मञ्चका एकजना स्तम्भ मानिने देवीचरण सेडाइँले आफ्नो पहिलो गजल सङ्कलन ‘शब्द र स्वर’ लिएर आउनुभयो। पुरूषोत्तम उपाध्याय दाहालले यसै मञ्चदेखि नेपाली साहित्यलाई गाउँ र गोठको सुगन्ध छर्ने कविता सङ्कलन “पातको फिरफिरे” दिनुभयो।
भीम धमालाले कालुसिं रणपहेली र डा. सुकराज दियालीका (‘च्यात्तिएका पृष्ठाहरू’ र ‘अनुहारमा भुगोल’ यथाक्रममा) असमीयामा अनुवाद गरेका दुइटा पुस्तक नेपाली साहित्यलाई उपहार दिनु भयो।
दीपक सुवेदी द्वारा सम्पादित र पुरुषोत्तम उपाध्याय दाहाल द्वारा प्रकाशित भारतका तीसजना सर्जकहरूको अन्तर्वार्ता समावेश गरिएको “अनलाइन साहित्य र भारतेली श्रष्टावार्ता” जस्तो महत्त्वपूर्ण पुस्तक पनि यसैदिन लोकार्पण भएको थियो।
रम्बास कविता सङ्कलनको अलावा पनि हिन्दी कविता सङ्कलन ‘ माँ ओर मेरे तराने’ र नेपाली कविता सङ्कलन ‘घुम्तीमा नआउ है ‘ को विमोचन गरेर अर्जुन उप्रेतीले साहित्यमा आफ्नो छुट्टै छाप छाड्नु भएकोछ।
एकैदिनमा चौधवटा पुस्तक विमोचन गरेर 23 अप्रिलको ‘अन्तर्राष्ट्रिय ग्रन्थ दिवस’ स्मरणीय बनेको थियो। अर्को उल्लेखनीय उपहार थियो खिलनाथ शर्मा अधिकारी द्वारा सम्पादित त्यस समारोहको स्मृतिग्रन्थ ‘जमर्को’।नवगठित “नेपाली साहित्य विकास समिति”का सभापति मुकेश रेग्मी, मूल सचिव खडानन्द शर्मा दुलाल र साहित्य सचिव भीम धमाला, उपसभापति भवानी भट्टराई लगायत प्राक्तन आन्सु सभापति बिनोद खनाल, अनेसासका उपसभापतिद्वय भीम महाराजी र कृष्णलाल शर्मा, भारतीय गोर्खा परिसंघका भवानी शर्मा, असम गोर्खा छात्र संघका गोपी छेत्री र माधव काफ्ले, संवादकर्मी खिलनाथ शर्मा, लोकनाथ शर्मा, थानुराम शर्मा, मनोरथ शर्मा, मोहन रेग्मी, अञ्जली राजकुमारी, सेङ्गाम लाब्राम, शरत गगै, अतुल चन्द्र शर्मा, मित्रभाइ आदि अनेकौँको भूमिकाको जति नै सहारना गरे पनि कम हुन्छ।
‘जमर्को’ स्मारिकाका सम्पादक खिलनाथ शर्मा अधिकारीले दिनरात एक गरेर छोटो समयमै एउटा स्तरीय पत्रिका आयोजक समितिलाई दिन सक्नु पनि साहित्य कुण्डमा होम दिएको स्मरणीय परिश्रम र त्याग हो। उतातिर एउटा श्रोता-प्रभावी आवाजका धनी थानुराम शर्माभाईले उद्योषकको रूपमा देखाएको पारदर्शिताले सबैलाई मुग्ध पारेको थियो।
साहित्य प्रति जति झुकाव थियो त्यो भन्दा कम थिएन संस्कृतिप्रति पनि। स्थानीय युवतीहरूले प्रदर्शन गरेका गीत र नृत्य कार्यक्रम रमाइला मात्रै होइन स्तरीय पनि थिए। प्रख्यात नृत्यशिल्पी मनजित गजुरेलको कलाकारी विर्सन नसक्ने कार्यक्रम थियो। भरत गुरागाँइको मैत्री भावनाको छोटो नाटकले समारोहको शोभा बढाएको थियो।
यसै समारोहमा नेपालदेखि आउने प्रसिद्ध मुक्तककार मदन भण्डारी र सन्तोष अम्गाइँको युगलवन्दीमा गम्किएको मुक्तकीय परिवेशले सबैलाई रोमाञ्चित पारेको अनुभव स्मरण रहनेछ। यसै कार्यक्रममा ‘असमेली मुक्तक मञ्चका’ परिचालक अनुप शर्माको पहिलो मुक्तक सङ्कलन “प्रतीक्षा”को घुम्टो उघारिनु पनि असमेली काव्यमा प्रशंसनीय कार्य मानिनेछ।
कुनैदिन अङ्ग्रेजका मुख्य अभियन्ता स्टीलवेलले शत्रुपक्ष जापानलाई हराउन बनाएको “स्टीलवेल रोड” हुँदै पाङ्साउ पासको टुप्पोमा पुगेर कल्पना गरिउँ – कसरी यत्रो अटव्य अरण्यको बाटो हुँदै, ‘लेक अफ नो रिटर्न’ देखि बच्दै हाम्रा थुप्रै बर्मेली पुर्खाहरू उग्रवादीका डरले मान्डाला, टमु, मिट्चिना (मचिना), रेङ्गुन आदि ठाउँबाट यता आइपुगे? सोचेँ, उहिल्यैदेखि अस्तित्वमा रहेको उग्रवाद कतै फ्रांकेनस्टाइनको जस्तो आसुरीक सृष्टि त होइन! कतै समाजको लागि बाघेखटिरो त होइन!
त्यसैदिन साँझमा कुनै समय शिक्षकता गर्दा थुप्रै कविता सिर्जना गर्ने हरिभक्त कटुवालको घडेरीमा दीप प्रज्वलन र वहाँकै कविता वाचन गरेर कवितामय परिवेश पारेको मुहुर्त पनि अविस्मरणीय भएर रहनेछ।कार्यक्रमको प्रारम्भ असममा स्थापन गरेको पहिलो भानुभक्त आचार्यको सालिक र आहोम सेनापति लाचित बरफुकनलाई स्मरण गरेर भएको थियो।
यहाँका विभिन्न जाति र जनजातिको बीच रहेको सद्भावना प्रत्येक क्षेत्रमा झलकिएको देखियो। हुन त असममा गोर्खा भएका प्राय ठाउँमा यस्तै सौहार्दपूर्ण परिवेश पाइन्छ। सबैसँग मिलेर शान्तिपूर्ण सहावस्थान गर्नु हाम्रो जातीय वैशिष्ट्य पनि हो। यसैले गर्दा होला जागुनछेउको पाटकाइ पहाड पल्लापट्टी म्यानमारमा पनि रमाइ रमाइ स्वाभिमानका साथ बसेकाछन् हाम्रा मान्छे।
निचोडमा भन्नु हो भने यति नै भन्न सकिन्छ कि जबसम्म तिराप अञ्चलवासी जस्ता भाषाप्रेमी गोर्खा र बाहिर देखि अक्लान्त त्यहाँ जानसक्ने साहित्यमन हामीबीच रहन्छन्, हाम्रो भाषा कहिल्यै कमजोर हुने छैन-हराउने छैन- विकास मात्रै हुने छ। मेरो पनि आन्तरिक कामना छ कि तिराप अञ्चल एउटा नेपाली ‘साहित्य-नगरी’को रूपमा चिनियोस्। यस गाउँलाई खोज्दै सर्जकहरू आई रहुन्। हामीले यस समारोहमा नेपाली साहित्यका कतिपय स्वनामधन्य व्यक्तिहरूको उपस्थिति आन्तरिककताले चाहेका थियौँ।
तर असुविधावश: आउन सक्नुभएन। वहाँहरू हुनुहुन्छ डम्बर दाहालसर, ज्ञान बहादुर छेत्री, दुर्गा खतिवडा, डा.जमदग्नि उपाध्याय, नव सापकोटा, डा. चिन्तामणि शर्मा, अञ्जन बाँस्कोटा, राजा पुनियानी, मोहन सुवेदी लगायत कैयौँ साहित्यिकहरू।
यो त भयो जाति र साहित्यसँग जोडिएको एउटा पक्ष। अर्को उत्तिकै महत्त्वपूर्ण पक्ष छ हामीले पाएको आतिथ्य। यस्तो जातीय कार्यक्रममा ग्रामीण अञ्चलमा साधारणतया त्यस अञ्चलका गाउँबासीले घरघरमा दुई चार अतिथिलाई बास दिएका हुन्छन्।
तर यहाँ त्यसको विपरीत एउटै घरमा प्राय पचासजनाभन्दा धेरै अतिथिलाई खाने र सुत्ने व्यवस्था मिलाइएको रहेछ- त्यो पनि सुविधाजनक। त्यस्तो परिवार हो खडानन्द शर्मा दुलालको। पत्नी दीपा शर्मा, बुहारी अञ्जली र छोरा करण। दुईदिनको बसाइमा कुनै पल उनीहरूको अनुहारमा विरक्ती वा थकान देख्न पाइएन। नमन छ वहाँहरूको आतिथ्यता र आत्मियतालाई। कसरी बिर्सनु पुरुषोत्तम दाहालभाइले हातमा हरिभक्त कटुवालको कविता पुस्तक लिएर एकपछि अर्को कविता वाचन गर्दै दोस्रो विश्वयुद्धमा सहिद भएकाको जयरामपुरको ‘वार मेमोरियल’ र भारत-म्यानमारको साँधमा रहेको पाङ्साउ भञ्ज्याङको यात्रा रमाइलो पारेका अविस्मरणीय मुहुर्तहरू!
हामी भावनाप्रमी फेरि जान्छौँ उदयपुर,रामपुर, जयरामपुर, लेखापानी। त्यहाँको भानुभक्तको सालिकछेउमा रोपेका वरपिपलको बिहे प्रत्येक 24 अप्रिलमा गर्नुछ, ‘रम्बास-कविता दिवस’ मनाउनु छ। सायद हाम्रो रम्बास कविताले जैविक काव्यानुभूति र मायाँ यहीँ नै धेरै पाउँनेछ होला। यसपालिको कार्यक्रमले यसैको संकेत दिएजस्तो लाग्यो।
::जयतु भाषा जननी::
विश्वनाथ, असम