पाँचथर । माघे संक्रान्ति अवसरमा पाँचथरको फिदिममा ३ दिने रैथाने खाना महोत्सव माघ १ देखि ३ गतेसम्म सम्पन्न भएको छ। नेपाल मगर संघ जिल्ला कार्य समिति पाँचथरको आयोजनामा फिदिमस्थित जिल्ला समन्वय समिति परिसरमा सम्पन्न महोत्सवले मगर समुदायका परम्परागत रैथाने खानासँगै यस क्षेत्रका विभिन्न जातजाति तथा समुदायका मौलिक खानाका परिकारहरू प्रस्तुत गरेका थिए ।
महोत्सवमा करिब १५ सयले अवलोकन गरेका थिए। ५० भन्दा बढी प्रकारका रैथाने तथा परम्परागत खानाका परिकार निःशुल्क रूपमा अवलोकनका लागि राखिएका थिए। आयोजक अध्यक्ष योवन थापा मगरका अनुसार रैथाने खानाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई परम्परागत खानासँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
संघका सचिव प्रेम केप्छाकीका अनुसार यो कार्यक्रम जिल्लाका लागि नयाँ अभियान हो र सबै जातजाति तथा समुदायले यसलाई साझा खाना महोत्सवका रूपमा लिनुपर्ने बताए।
पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले प्रयोग गर्दै आएका परम्परागत तथा रैथाने खानाका परिकार महोत्सवका मुख्य आकर्षण बनेका छन्। यस वर्षको कार्यक्रम विगतका उत्सवभन्दा फरक ढंगले खानाको प्रदर्शनी र प्रवर्द्धनमा विशेष रूपमा केन्द्रित भएको आयोजकले बताएका छन्।




