पाँचथर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन सञ्चालनका लागि आवश्यक सम्पूर्ण कामहरू अघि बढाउन शुक्रबार औपचारिक रूपमा उक्त कार्यालय स्थापना गरिएको हो।
एक कार्यक्रमका बीच जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत कुमार मास्केले ब्यानर वाचन गर्दै कार्यालयको उद्घाटन गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला हुलाक कार्यालय परिसरमा स्थापना गरिएको छ।
उद्घाटन कार्यक्रमको समापन मन्तव्यमा मुख्य निर्वाचन अधिकृत मास्केले निर्वाचन कार्य सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए। उनले निर्वाचन सामूहिक प्रयासबाट सम्पन्न हुने कार्य भएको उल्लेख गर्दै निष्पक्ष, शान्तिपूर्ण र विश्वासयोग्य निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार आजबाट निर्वाचनसम्बन्धी सम्पूर्ण औपचारिक कार्यक्रमहरू सोही कार्यालयबाट सञ्चालन गरिनेछ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाँसुदेव दहाल, सुरक्षा निकायका प्रमुखहरू तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
यसैबीच पाँचथर जिल्लामा मतदाता संख्या बढेको छ। जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार पछिल्लो अद्यावधिकमा २ हजार ९ सय ९९ नयाँ मतदाता थपिएसँगै जिल्लामा कुल मतदाता संख्या १ लाख ४३ हजार ४ सय ८ पुगेको छ। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनका बेला जिल्लामा १ लाख ४० हजार ४ सय ९ मतदाता दर्ता भएका थिए।
त्यस समयमा पाँचथरमा ६६ हजार ८१ जना महिला र ७४ हजार ३ सय २८ पुरुष मतदाता रहेका थिए। हाल महिलाको संख्या ६७ हजार ३ सय ३० र पुरुष मतदाता ७६ हजार ७८ पुगेका छन्। महिलाभन्दा पुरुष मतदाता संख्या अझै बढी देखिए पनि दुवै समूहमा मतदाता वृद्धिदर सकारात्मक रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिनिधि सभाका लागि पाँचथर जिल्ला एक मात्र निर्वाचन क्षेत्र रहेको छ।




