पाँचथर।मिक्लाजुङ गाउँपालिका वडा नं. २ को नव निर्मित प्रशासकीय वडा कार्यालय भवनको समुद्घाटन सम्पन्न भएको छ। मिक्लाजुङ गाउँपालिकाको आर्थिक सहयोगमा आर्थिक वर्ष २०८१/८२ मा निर्माण कार्य सुरु भई आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएको उक्त भवन ठेक्का प्रक्रियामार्फत बालार्क कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले निर्माण गरेको हो। भवन निर्माणको कुल लागत रुपैयाँ एक करोड अठतीस लाख उनन्तीस हजार छ सय बाइस मात्र रहेको छ।
वडा नं. २ मा लामो समयदेखि महसुस हुँदै आएको व्यवस्थित र सुविधासम्पन्न प्रशासकीय संरचनाको अभावलाई अन्त्य गर्न वडाध्यक्ष महेन्द्र थापा मगरको सक्रिय पहल, निरन्तर समन्वय र नेतृत्वदायी भूमिकाले यस भवन निर्माण कार्यलाई सार्थक निष्कर्षमा पुर्याएको स्थानीयवासीहरूले बताएका छन्। समयमै काम सम्पन्न हुनु उहाँको कार्यकुशलता र विकासप्रतिको प्रतिबद्धताको प्रतिविम्ब मानिएको छ।
समुद्घाटन समारोहका अवसरमा वडा कार्यालय भवन निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराउनु हुने बिरेन्द्र कुमार सेर्मा, मदन आङदेम्बे, भिमकर्ण आङदेम्बे लगायतका जग्गादाताहरूलाई सम्मान व्यक्त गरिएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष थापा मगरज्यूले जग्गादाताहरूको योगदानप्रति आभार व्यक्त गर्दै सामूहिक प्रयासबाट मात्र दिगो विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
विविध सांस्कृतिक झाँकीसहित सम्पन्न उक्त कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमज्यूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्य, वडासदस्यहरू, गाउँपालिकाका विषयगत शाखा प्रमुखहरू तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नव निर्मित वडा कार्यालय भवनको समुद्घाटनसँगै वडा नं. २ का सेवाग्राहीहरूले अब अझ सहज, छरितो र प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास लिइएको छ। स्थानीयबासीहरूले वडाध्यक्ष महेन्द्र थापा मगरको नेतृत्वमा वडा नं. २ ले विकासको सकारात्मक गति लिएको भन्दै आशा व्यक्त गरेका छन्।





