पाँचथर– माघे संक्रान्तिको अवसरमा पाँचथर सदरमुकाम फिदिममा रैथाने खानाको विक्री वितरण तथा परम्परागत वस्तुको प्रदर्शन र परम्परागत सांस्कृतिक प्रस्तुति सहितको रैथाने खाना महोत्सव सुरु भएको छ । महोत्सव दुई दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुति सहितको बहुसास्कृतिक र्याली सहित महोत्सवको शुभारम्भ गरिएको छ । फिदिमको विपि पार्कमा परम्परागत खानाका स्टल राखिएको छ । कतै परम्परा झल्काउने सामाग्री छन् भने ठाउँ चिनाउने फोटो प्रदर्शनी समेत गरिएको छ । हराउदै खाएका परिकार चाख्ने अवसर मिलेको छ भने विभिन्न जातजातिमा आधारित पोसाकमा सजिएकाहरूले निक्कै रौनकता दिएको देखिन्छ । परम्परालाई पुस्तान्तरण गर्ने गरि नेपाल मंगर संघ पाँचथरले आयोजना गरेको महोत्सवमा विभिन्न संघ, संस्थाले सहकार्य गरेका छन् ।
महोत्सवले सांस्कृतिक पहिचान प्रवर्धनमा योगदान गर्ने आयोजक मध्येका एक दिपेन्द्र थापा मगरले जानकारी दिए ।
दुई दिनसम्म चल्ने महोत्सवको उद्घाटनमा हुर्रा, साकेला, केलाङ, संगिनि सहित विभिन्न किसिमका सांस्कृतिक प्रस्तुति राखिएको थियो । महोत्सवमा राखिएको खाद्यान्न स्टलमा भिड लागेको देखिन्छ । रैथाने परिकार, चिया, बास तथा अन्य सामाग्री विक्रीमा राखिएको छ । रैथाने महोत्सवले पहिचान झल्काउन सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
यस्ता महोत्सवले अन्न उत्पादनमा प्रोत्साहन र बहुराष्ट्रिय कम्पनीको उत्पादन निरुत्साहित गर्न सहयोग पुग्ने आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् पाँचथरका अध्यक्ष सागर केरुङले बताए । यस किसिमको महोत्सव हेर्न र रमाउन निक्कै उत्साहित भएको देखिन्छ । महोत्सवले फिदिममा चहलपहल ल्याउन तथा पर्यटन प्रवर्धन गर्नका लागि पनि सहयोग पुग्ने अपेक्षा राखिएको होटल व्यवसायी संघ पाँचथरका सचिव भीम कार्कीको भनाई छ ।




