पाँचथर । आइतबारदेखि काठमाडौँमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनमा हाल बन्द सत्र सञ्चालन भइरहेको छ । महाधिवेशनमा पाँचथरबाट बहुमत पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका छन् ।
पार्टीका आठ जना जिल्ला पदाधिकारीमध्ये चार जनाले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन अपिल गरेका छन् । उपसभापति द्वय बृजहाङ आङदेम्बे र डिकेन्द्र चेम्जोङ, सचिव दिपक नेपाल तथा सह–सचिव गजेन्द्र राई विशेष महाधिवेशनको पक्षमा रहेका छन् । यता जिल्ला सभापति रुपनारायण जवेगु, सचिव डेकेन्द्रकुमार तामाङ र सह–सचिव सन्तोष श्रेष्ठ विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् ।
यसअघि जारी पहिलो विज्ञप्तिमा विशेष महाधिवेशनको पक्षमा खुलेका कोषाध्यक्ष रमेशभगत प्रधानाङ्ग यस पटक भने कुनै पक्षमा खुलेको देखिएको छैन ।
पाँचथरबाट प्रतिनिधित्व गर्ने २६ जना महाधिवेशन प्रतिनिधिमध्ये ओनाहाङ नेम्बाङको निधन भएपछि हाल प्रतिनिधिको संख्या २५ पुगेको छ । विशेष महाधिवेशनमा नरेन्द्रकुमार केरुङ, सुमन लामा, आशा आङदेम्बे, देवित्रा आङदेम्बे, बिरेन्द्रकुमार खड्का, हरिराज आङदेम्बे, देशु सुहाङ, जनीमाया थापा मगर, ताराहाङ तावा, छबी बाँस्कोटा, राजेश पोदार, गंगामाया आङदेम्बे, मधु जबेगु, बिमल धमला, नवीनचन्द्र ढुङ्गेल, बमप्र लावती र गोपालप्रसाद पोख्रेल सहभागी छन् ।
यद्यपि विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका गंगाबहादुर आङदेम्बे र पूर्ण तुम्बापो भने महाधिवेशन स्थलमा नदेखिएको एक नेताले जानकारी दिएका छन् ।
विशेष महाधिवेशनको विपक्षमा जिल्ला सभापति रुपनारायण जवेगु सहित मित्रप्रसाद काफ्ले, केदार बाँस्कोटा, कान्ता रिजाल, दुतबहादुर गुरुङ, कौशीला गुरुङ र चन्द्रसुन्दर खेवाङ रहेका छन् ।
विशेष महाधिवेशनलाई लिएर पाँचथर काँग्रेसभित्र देखिएको पक्ष–विपक्षले जिल्लाको आन्तरिक राजनीतिलाई थप चासोको विषय बनाएको छ ।




