पाँचथर । श्रम संस्कृति पार्टी पाँचथरले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ब्रबिम शेर्मालाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
आइतबार बसेको पार्टी जिल्ला समितिको बैठकले कुम्मायक गाउँपालिका–२, माङजाबुङ निवासी शेर्मालाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टीका अनुसार स्थानीय तहमा पहिचान बनाएका, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय व्यक्तित्वलाई उम्मेदवारका रूपमा अघि सारिएको हो। शेर्मा विशेषगरी लिम्बु भाषामा गीत गाउने कलाकारका रूपमा परिचित छन्। उनले लिम्बु भाषा, संस्कृति र पहिचान संरक्षणका लागि संगीतमार्फत निरन्तर योगदान दिँदै आएका छन्।
सांस्कृतिक चेतना र श्रमको सम्मानलाई राजनीतिक एजेन्डाका रूपमा अघि बढाउँदै आएको श्रम संस्कृति पार्टीले शेर्माको उम्मेदवारीले भाषा, संस्कृति र श्रमिक वर्गका मुद्दालाई राष्ट्रिय तहमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
पार्टीले आसन्न निर्वाचनमा पाँचथरमा वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्दै सक्रिय प्रतिस्पर्धा गर्ने जनाएको छ।




