पाँचथर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँचथरले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महेन्द्र विक्रम थाम्सुहाङलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीले जिल्लामा लामो समयदेखि राजनीतिमा सक्रिय, शालीन र भद्र स्वभावका नेताका रूपमा परिचित थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
शनिबार साँझ सम्पन्न रास्वपा जिल्ला कार्यसमितिको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थाम्सुहाङलाई प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सभापति प्रकाश गुरुङले जानकारी दिए। उनका अनुसार जिल्लाको राजनीतिक अवस्था, मतदाताको अपेक्षा र उम्मेदवारको अनुभवलाई आधार मानेर सर्वसम्मत निर्णय गरिएको हो।
यसअघि थाम्सुहाङको नाम समानुपातिकतर्फ पनि सिफारिस गरिएको थियो। तर, समानुपातिक सूचीमा नाम नसमेटिएपछि पार्टीले उनको अनुभव र लोकप्रियतालाई ध्यानमा राख्दै प्रत्यक्षतर्फ अघि सार्ने निर्णय गरेको बताइएको छ।
थाम्सुहाङ लामो समयसम्म नेकपा (एमाले) मा रहेर जिल्लाको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेपछि उनी माधवकुमार नेपालको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा आबद्ध भएका थिए। पछिल्लो समय वैकल्पिक राजनीतिक धारको खोजी गर्दै उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका हुन्।
राजनीतिक परिवारमा जन्मिएका थाम्सुहाङ सानैदेखि राजनीतिमा चासो राख्दै सक्रिय हुँदै आएका छन्। उनको राजनीतिक यात्रा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुरु भएको हो। २०५४ सालमा राप्रपा पाँचथरको जिल्ला सचिव बनेका उनले २०५७ सालमा राप्रपा छाडेर नेकपा (एमाले) प्रवेश गरेका थिए। एमालेमा रहँदा उनी युवा संघको जिल्ला अध्यक्ष, नगर अध्यक्ष हुँदै जिल्ला सदस्य तथा सचिवालय सदस्यसम्मको जिम्मेवारीमा रहेर संगठन विस्तारमा सक्रिय भूमिका खेलेका थिए।
सहज स्वभाव, मिलनसारिता र विवादबाट टाढा रहने नेताका रूपमा चिनिने थाम्सुहाङ जिल्लामा शालीन र भद्र नेताको छवि बनाएका व्यक्तित्व हुन्। राजनीतिक मतभेदका बाबजुद पनि सबै दल र समुदायसँग संवाद र सहकार्य गर्न सक्ने क्षमता भएको नेताका रूपमा उनलाई चिनिन्छ। यही कारण उनी सबै वर्गका मतदातामाझ स्वीकार्य नेता मानिन्छन्।
राजनीतिसँगै उनी खेलकुद क्षेत्रको विकासमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन्। थाम्सुहाङ फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत भइसकेका छन्। खेलकुदलाई युवालाई सकारात्मक दिशातर्फ लैजाने माध्यमका रूपमा लिँदै उनले जिल्लामा विभिन्न खेल गतिविधि सञ्चालन र पूर्वाधार विकासमा योगदान दिएका छन्।
रास्वपा पाँचथरले थाम्सुहाङको अनुभव, सरल जीवनशैली र जनतासँगको निकटतालाई आधार मानेर उम्मेदवार सिफारिस गरेको जनाएको छ। पार्टीले उनको उम्मेदवारीले पाँचथरको राजनीतिमा नयाँ बहस र प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ।




