पाँचथर । नेपाली काँग्रेस पाँचथरमा बहुमत पदाधिकारी र महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा उभिएर काठमाडौँ तर्फ लागेका छन्। पार्टीका ८ जना पदाधिकारीमध्ये चार जनाले संयुक्त विज्ञप्ति जारी गर्दै महाधिवेशनमा सहभागी हुन अपिल गरेका छन्। उपसभापति द्वय बृजहाङ आङदेम्बे र डिकेन्द्र चेम्जोङ, सचिव दिपक नेपाल तथा सह–सचिव गजेन्द्र राईले हस्ताक्षर गरेका छन्।
पाँचथरबाट रहेका २६ जना महाधिवेशन प्रतिनिधिमध्ये १९ जना विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौँ प्रस्थान गरिसकेका छन्। त्यस्तै, सयौँ पार्टी कार्यकर्ता पनि उत्साहपूर्वक काठमाडौँतर्फ लागेका छन्। पदाधिकारी र प्रतिनिधिले विशेष महाधिवेशन नछाड्नु पर्नेमा जोड दिइएको छ। यसले पार्टीको एकता र संगठनको बलियो धारणा कायम राख्न मद्दत पुर्याउने विश्वास गरिएको छ।
तर, जिल्ला पार्टी सभापति रुपनारायण जवेगु निर्णायक घडीमा जिम्मेवारी पूरा नगरी जिल्ला बाहिर छन्। उनी विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् र यसले पार्टीभित्र असन्तोष बढाएको छ। धेरै जिल्ला नेता र कार्यकर्ताले उनकाे भूमिका कमजोर ठानेका छन् र नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन्।
एक कार्यकर्ताले केन्जाेखबर सँग भने, “निर्णायक समयमा सभापति जवेगु जिम्मेवारी पूरा नगरी जिल्ला बाहिरिनु पार्टीहितविपरीत कदम हो। पदाधिकारी र प्रतिनिधिले महाधिवेशन नछाडेर सक्रिय रहनु राम्रो उदाहरण हो।”
विशेष महाधिवेशनमा पाँचथर काँग्रेसका बहुमत पदाधिकारी र प्रतिनिधिको सक्रिय र उत्साही सहभागिताले पार्टीभित्रको बलियो धारणा स्पष्ट देखाएको छ, जबकि सभापति जवेगुको अनुपस्थितिले नेतृत्वमा असन्तुलन र असन्तोष सिर्जना गरेको छ।विशेष महाधिवेशन पुस २७ र २८ गतेकाठमाडौँ हुँदैछ ।





