दिपक बोहोरा । पाँचथर । पाँचथर जिल्लामा मतदाता संख्या बढेको छ । पछिल्लो अद्यावधिक अनुसार २ हजार ९ सय ९९ नयाँ मतदाता थपिएसँगै जिल्लामा कुल मतदाता संख्या १ लाख ४३ हजार ४ सय ८ पुगेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । २०७९ सालको निर्वाचनमा जिल्लामा १ लाख ४० हजार ४ सय ९ मतदाता दर्ता भएका थिए । त्यतिबेला ६६ हजार ८१ जना महिला र ७४ हजार ३ सय २८ पुरुष मतदाता रहेको पाँचथरमा अहिले महिलाहरु ६७ हजार ३ सय ३० जना र पुरुष ७६ हजार ७८ पुगेका छन् । महिलाभन्दा पुरुष मतदाता अझै धेरै देखिए पनि दुवैमा वृद्धिदर सकारात्मक रहेको देखिन्छ।

जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै मतदाता फिदिम नगरपालिकामा रहेका छन् ३५ हजार ९ सय ९५ पुगेका छन्। सोहीगरी मिक्लाजुङ गाउँपालिकामा १८ हजार ५ सय २०, फाल्गुनन्द गाउँपालिकामा १८ हजार ९ सय ४४, फालेलुङ गाउँपालिकामा १७ हजार ८ सय ९६, हिलिहाङ गाउँपालिकामा १६ हजार ६ सय ४९, याङवरक गाउँपालिकामा १४ हजार ५ सय २७, कुम्मायक गाउँपालिकामा ११ हजार ६ सय २८ र तुम्बेवा गाउँपालिकामा ९ हजार २ सय ४९ मतदाता दर्ता भएका छन् । फिदिममा सबैभन्दा धेरै र तुम्बेवामा सबैभन्दा कम मतदाता रहेका कारण निर्वाचन समीकरणमा यी दुई पालिकाले विशेष प्रभाव पार्ने अनुमान गरिएको छ ।

मतदाता संख्या वृद्धि भएसँगै पाँचथरमा आउने निर्वाचन झनै प्रतिस्पर्धात्मक हुने देखिएको छ । मतदाता संरचनामा आएको परिवर्तन, नयाँ दर्ता भएका युवाहरूको भूमिका, बसाइँसराइबाट प्रभावित मतदाता उतारचढावले दलहरूले रणनीति पुनर्संयोजन गर्नुपर्नेछ । फिदिम, मिक्लाजुङ, फाल्गुनन्द र फालेलुङ गाउँपालिका दलहरूको प्राथमिक लक्ष्य बन्ने सम्भावना देखिएको छ भने ग्रामीण तहमासमेत मतदाता सक्रियता बढ्दै गएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता अद्यावधिक प्रक्रिया सकिएसँगै अब मतदान केन्द्र व्यवस्थापन, मतदाता शिक्षा र आवश्यक पूर्वाधार तयार पार्दै चुनावी तयारीलाई अगाडि बढाउने जनाएको छ ।

पाँचथरकाे धेरैदेखि थाेरै मतदाता रहेका स्थानीय तहहरु





