दिपक बोहोरा ।
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत आज विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ।
आज दिउँसो ३ बजेबाट सुरु हुने खेल फाइनल प्रवेशको लागि मात्र होइन, नेपाली महिला फुटबलको दुई ठूला नामबीचको प्रतिष्ठाको लडाइँ पनि बन्ने अपेक्षा गरिएको छ।
क्वार्टरफाइनल चरणमा एपीएफले भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट लयमा रहेको संकेत दिएको थियो। त्यस्तै आर्मीले आरएस पोखरालाई ६–० गोलले हराउँदै आफू पनि उपाधि दाबेदार टोली भएको प्रमाणित गरेको हो।
एपीएफका प्रशिक्षक जीवेश पाण्डेले सेमिफाइनल अघि भनेका थिए “हामीले लगातार आक्रामक खेल प्रदर्शन गर्दै आएका छौं। आर्मी बलियो टोली हो, तर हाम्रो टिमको गति, पासिङ र प्रेसिङ गेमले फर्काउन सक्छ।”
उता, त्रिभुवन आर्मीका प्रशिक्षक चक्रबहादुर तामाङले भने, “एपीएफ सँगको खेल सदैव चुनौतीपूर्ण हुन्छ। तर हाम्रो टिममा राम्रो संयोजन बनेको छ। खेलको गहिराइमा जान सक्ने अनुभव हामीसँग छ, त्यसैले फाइनल पुग्नेमा आत्मविश्वास छ।”
दुबै टोलीले अहिले सम्म गोल व्योहोरेका छैन्न । यसअघि पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा एफसीलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरिसकेको छ। आजको खेलको विजेता टोलीले फाइनलमा पुलिससँग उपाधिका लागि भिड्नेछ।
दर्शकका लागि टिकट दर सामान्यतर्फ २०० र ३०० रुपैयाँ तथा भिआइपीतर्फ १,००० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ। पछिल्ला खेलहरूमा रंगशालामा उपस्थिति उल्लेखनीय रहँदै आएको छ, जसले झापामा महिला फुटबलप्रति बढ्दो आकर्षणको संकेत दिएको छ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिँदै आएको छ।




