झापा । झापाको शिवसताक्षीस्थित दूधेखेलमैदानमा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा संकटा क्लब काठमाडौंले घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६–० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको सुरुवातदेखि नै संकटा आक्रामक खेल प्रस्तुत गरिरहेको थियो । १३औं मिनेटमा राष्ट्रिय यू–२० खेलाडी सुक्रिया मियाको प्रहारलाई झापाकी गोलकिपर सुजता तामाङले सजिलै कलेक्सन गरिन् । १५औं मिनेटमा अनिसा राईको २५ यार्ड दूरीको फ्रिकिक र २३औं मिनेटमा समिक्षा मगरको लङ–रेन्ज सट पनि सुजताले रोकिन ।
तर निरन्तर दबाब बनाइरहेको संकटाले २३औं मिनेटमा अग्रता बनायो । राष्ट्रिय खेलाडी पुर्णिमा राईको सटीक क्रसमा सेनु परियारले उत्कृष्ट फिनिसिङ गर्दै पहिलो गोल गरिन् । ३०औं मिनेटमा कप्तान योशोधा शाहीले पाएको फ्रिकिक सदुपयोग गर्न नसके पनि पहिलो हाफको इन्जुरी समयमा सुनिता भुलानको असिस्टमा समिक्षा मगरले गोल गर्दै संकटाको अग्रता २–० बनाइन् ।
दोस्रो हाफको सुरुवातमै संकटा अझ आक्रामक बन्यो । ५५औं मिनेटमा भुटानबाट अनुबन्धित विदेशी खेलाडी छिरिंग वांग्देनले पुर्णिमा राईको ब्याकहिल पासमा गोल गर्दै टोलिलाई ३–० को स्थितिमा पुर्याइन् । ६१औं मिनेटमा पुर्णिमा राईले यु–२० सहकर्मी सेनु परियारको पासमा गोल गर्दै अन्तर ४–० बनाइन् । ८३औं मिनेटमा रेनिसा शर्माको लङ रन क्रसमा उनले अर्को गोल थपिन् । नियमित समयको अन्तिम मिनेटमा अरुणा स्याङत्याङले मैदान प्रवेश गरेको केही मिनेटमै गोल गर्दै संकटाको जित ६–० मा पक्का गरिन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पुर्णिमा राईलाई “प्लेयर अफ द म्याच” भइन, जसअन्तर्गत उनले रु १५,००० नगद र ट्रफी प्राप्त गरिन् ।
खेलपछि झापाका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोली अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । संकटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले भने टोलीले रणनीतिअनुसार खेल्दै सहज जित निकाल्न सफल भएको बताए ।
प्रतियोगिताको फाइनल कात्तिक २४ गते हुनेछ ।विजेता टोलीले रु १० लाख १० हजार, उपविजेताले रु ५ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु १ लाख ५० हजार,उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्तालाई रु २५ हजार प्रदान गरिनेछ ।हरेक खेलको ‘प्लेयर अफ द म्याच’ले रु १५ हजार र ट्रफी प्राप्त गर्नेछन् ।




