झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सुरु भएको एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो जित हात पारेको छ । पहिलो खेलमै पुलिसले एकतर्फी नतिजा निकाल्दै अर्को ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुनिश्चित गरेको हो ।
पुलिसका तर्फबाट मिना देउबाले अविश्वसनीय प्रदर्शन गर्दै पाँच गोल गरिन् भने रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् । खेलको पहिलो हाफमा सावधान र संयमित रूपमा खेल्दै आक्रमणको लय खोजिरहेको पुलिसले ३७औँ मिनेटमा खाता खोलेको थियो । राष्ट्रिय टोलीमा हालै मात्र डेब्यु गरेकी मिना देउवाको क्रसमा रेखा पौडेलले उत्कृष्ट फिनिस गर्दै टोलीलाई अग्रता दिलाइन् ।
दोस्रो हाफमा पुलिसले खेलमा पूर्ण नियन्त्रण कायम गर्यो । खेलको ५१औँ मिनेटमा चर्चका डिफेन्डर र गोलकिपरबीच तालमेलको कमीले मिना देउवालाई सहज अवसर दिलायो, जसलाई उनले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि भने मैदान मिना र रेखाको शोमा परिणत भयो ।
मिनाले ५९औँ, ६२औँ, ६८औँ र ८१औँ मिनेटमा लगातार गोल थप्दै व्यक्तिगत पाँच गोलको उपलब्धि हासिल गरिन् । रेखाले पनि ८०औँ मिनेटमा ३० यार्ड दूरीबाट सानदार प्रहारमार्फत गोल गर्दै चर्चका गोलकिपरलाई कुनै मौका दिइनन् । अन्तिम इन्ज्युरी समयमा पुनः गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन् ।
८–० को फराकिलो जितसँगै पुलिस सहजै सेमिफाइनलमा प्रवेश गर्यो । खेलभरि पुलिसको बल पोजेसन र फिनिसिङ दुवै उत्कृष्ट देखियो भने चर्चको डिफेन्स र गोलकिपिङ कमजोर रह्यो ।
खेलकी ‘प्लेयर अफ द म्याच’ मिना देउबा घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । पुरस्कार वितरण नगरप्रमुख मेगाहाङ थोप्रा, प्रतियोगिता संयोजक सन्तोष थोप्रा र ग्यारेज क्याफेका सञ्चालक लुका राईले गरे ।
भोलि मंगलबार हुने दोस्रो क्वार्टरफाइनल खेलमा एपिएफ फुटबल क्लब र भारतको सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ ।
दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ, र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा ८ टिम — त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, आरएस पोखरा एफसी र भारतको सिंग्लिङ स्पोर्टिङ क्लब — प्रतिस्पर्धा गर्दै छन् ।




