पाँचथर । गत असोज १८ गते राति परेको अविरल वर्षाले पाँचथर जिल्लाका मुख्य तथा ग्रामिण सडक सञ्जाल ठप्प बनायो। जिल्लाको भौगोलिक जटिलता र पहिरो जोखिमले यातायात पूर्ण रूपमा प्रभावित भएपछि अहिले स्थानीय सरकारहरू, सुरक्षा निकाय र प्राविधिक टिमहरू सडक सञ्चालनमा ल्याउने अभियानमा जुटेका छन्।
पहिरो, डाइभर्सन बग्ने र पुल बगाउने घटनाले जनजीवनमा ठुलो असर पारेको छ। ग्रामीण भेगका बासिन्दा आवतजावत र दैनिक आपूर्तिमा समस्या भोगिरहेका छन्। यद्यपि, स्थानीय तहका जनप्रतिनिधि र प्राविधिक टोलीहरूको समन्वयमा सडक खुलाउने कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
त्यस क्रममा फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा निर्माण गरिएको डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। सो खण्डमा नेपाली सेनाको सहयोगमा अस्थायी फड्के पुल निर्माण कार्य सकिएको छ र त्यहाँबाट आवतजावत पुनः सुरु भइसकेको छ। यसले फिदिम र फालोट क्षेत्रका बासिन्दाका लागि आवतजावत सहज बनाउन सहयोग गरेको छ।
मुख्य सडकहरूमध्ये मेचि राजमार्गको फिदिम–राँके खण्ड सञ्चालनमा आएको छ भने राँके–इलाम र तमोर करिडोर खण्ड खुलाउने कार्य जारी छ। राँके–रबि–भेडेटार सडक खण्डमा पनि माटो तथा ढुंगा हटाउने काम सुरु गरिएको छ। साथै, राँके–रबि सडक खण्डअन्तर्गत पर्ने फाल्गुनन्द भाग सञ्चालनमा आइसकेको छ, जसले सो क्षेत्रका बासिन्दा र व्यवसायिक यातायातमा सहजता थपेको छ।
फिदिम नगरपालिका
-
फेमे खोलाको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भयो। अहिले अस्थायी फड्के पुल निर्माण भइसकेको छ र आवतजावत पुनः सुरु भएको छ।
-
शिवालय–रानिटार–लुङरुप त्रिवेणी पुल बग्दा फिदिम–१३ र फिदिम बजारबीचको यातायात सम्पर्क टुटेको छ।
-
फिदिम नवमीडाँडा–शिवाखोलास्थित पुल बग्दा आवतजावत ठप्प छ।
-
शिवाखोला–लुङफाबुङ सडक खुलाउने कार्य पुर्वाधार विकास कार्यालयले सुरु गरेको छ।
- विभिन्न वडा भित्रका सडक खुलाउने काम क्रमिक रूपमा अघि बढाइँदै छ।
हिलिहाङ गाउँपालिका
-
तमोर करिडोरको हेवाखोला क्षेत्र अझै अवरुद्ध छ।
-
अन्य सडकहरू सञ्चालनमा आइसकेका छन्।
फालेलुङ गाउँपालिका
-
फिदिम–फालोट सडक पूर्ण रूपमा अवरुद्ध छ।
-
वडा नं. ८ आकाशेमा ठूलो पहिरो आएको छ।
-
वडा नं. ३ र ६ को सिमानास्थित घुमाउनेटार–हेवा खोलाको सडक अझै बन्द छ।
-
वडानं. ५, ६, ७, र ८ का भित्री सडकहरू खुलाउने कार्य सुरु गरिएको छ।
कुम्माय गाउँपालिका
-
यासोक–फिदिम सडक सञ्चालनमा आएको छ।
-
अन्य भित्री सडकहरूमा ठूलो अवरोध छैन।
फाल्गुनन्द गाउँपालिका
-
रबि–राँके सडक खण्डअन्तर्गत फाल्गुनन्द भाग सञ्चालनमा आएको छ।
-
वडा नं. ५ को मायालुमोड सडक खुलाउने कार्य भइरहेको छ।
-
नवमीडाँडा–फेन्चेघाट सडक अझै अवरुद्ध छ।
-
गोलीभञ्जाङ–आङसराइ–मेलबोटे सडक सञ्चालनमा आएको छ।
मिक्लाजुङ गाउँपालिका
-
राँके–रबि–भेडेटार सडकखण्ड उत्तरेदेखि वडा नं. ६ बुधबारेसम्म अवरुद्ध छ।
-
सडक खुलाउने काम क्रमिक रूपमा अघि बढाइँदै छ।
-
रबि–कुरुम्बा–लिम्बा कृषि सडक, सप्तमी–सराङडाँडा–नाकेदिम, र जोरपोखरी–घुवाबेँसी–घुपीङ सडक बन्द छन्।
-
सम्बन्धित प्राविधिक टोलीले अनुगमनपछि मर्मत कार्य सुरु गर्ने तयारी गरेको छ।
तुम्बेवा गाउँपालिका
-
लखुवा–मैवा र डिटार–मैवा सडक खण्ड सञ्चालनमा आइसकेका छन्।
-
दशमी–मैवा सडक खुलाउने कार्य सुरु गरिएको छ।
याङवरक गाउँपालिका
-
मध्यपहाडी लोकमार्ग च्याङथापु खण्ड सञ्चालनमा आएको छ।
-
अन्य वडाहरूका सडकहरू क्रमशः खुलाउने प्रयास जारी छ।