पाँचथर । पाँचथरको याङवर गाउँपालिका र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सीमामा पर्ने ४,३८० मिटर उचाइको धार्मिक तथा पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीमा भदौ २६ गते दोस्रो संस्करणको ‘तिम्बुङ पोखरी ट्रेल रन’ हुने भएको छ। शनिबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा संयोजक अमिर राईले पोखरी क्षेत्रको प्रवर्द्धन र विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।
ट्रेल रन पर्वतीय तथा प्राकृतिक बाटो हुँदै गरिने दौड प्रतियोगिता हो। खेलाडीहरूले जंगल, डाँडा, चट्टान र खोला–खोल्साका बाटो पार गर्दै निर्धारित दूरी पूरा गर्छन्। नेपालमा हिमाल र पहाडका कारण यस्तो खेल लोकप्रिय हुँदै गएको छ। अन्नपूर्ण ट्रेल रन, माउण्टेन् ट्रेल रेस जस्ता प्रतियोगिता पछि अब तिम्बुङ पोखरी ट्रेल रन पनि नेपालको पहिचान बनिरहेको छ।
यस संस्करणमा दौडको दुरी करिब १५ किलोमिटर रहेको छ। प्रतियोगिता ४,३५० मिटर उचाइको तिम्बुङ पोखरीबाट सुरु भई ३,८०० मिटरको पाङ्दुवा झरेर पुनः ४,२०० मिटरको ठूलो भञ्ज्याङमा टुंगिनेछ। गत वर्ष पहिलो संस्करण ७.८ किलोमिटर मात्र थियो।
पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ५० हजार, ३५ हजार र २० हजार रुपैयाँ पाउनेछन्। महिलातर्फ प्रथम हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने स्थानीयस्तरमा सिदिङ्वा गाउँपालिकाभित्रकै विजेताले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। यस संस्करणदेखि पर्यटन पत्रकारितामा योगदान पुर्याउने एक पत्रकारलाई पनि २५ हजार रुपैयाँसहित ‘पर्यटन पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ।
प्रतियोगितासँगै सहभागीहरूले भदौ २२ गते कालिखोलाबाट यात्रा सुरु गरी २५ गते तिम्बुङ पोखरी र भारतको सिक्किमस्थित लक्ष्मी पोखरी अवलोकन गर्नेछन्। २६ गते ठूलो भञ्ज्याङमा उद्घाटन तथा समापन कार्यक्रमसहित ट्रेल रन सम्पन्न हुनेछ।
सिदिङ्वा गाउँपालिका–१ का वडाध्यक्ष गोपाल बानियाँका अनुसार तिम्बुङ पोखरी धार्मिक आस्था मात्र नभई कोशी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। गाउँपालिकाले पोखरीसँगै सिदिङ्वाधाम, ढङ्ढङ्गे झरना, चमेरे गुफा र हात्तीढुङ्गाजस्ता स्थलको प्रवर्द्धनका लागि महोत्सव र प्रतियोगितालाई निरन्तरता दिने योजना बनाएको छ।
यो ट्रेल रन केवल खेलकुद प्रतियोगिता नभई खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने रणनीतिका रूपमा लिइएको छ। हिमाल र प्राकृतिक सौन्दर्यसँगै दौडिने अनुभवले तिम्बुङ पोखरीलाई नेपालका चर्चित ट्रेल रनमध्ये एक बनाउने अपेक्षा गरिएको छ।
याे पनि पढ्नुहाेस