लिला बोहोरा
पाँचथर– पत्रैपत्र परेको फुल्ने केन्जो (पदमचाल) देखेर मोहित हुनेहरू भेटिन्छन् । कतिपय प्रत्यक्ष देखेर मख्ख पर्छन् भने कतिपय फोटो भिडियो हेरेर लोभिन्छन् ।
केन्जो प्रत्यक्ष देख्नलाई हिमाली क्षेत्र पुग्नु पर्छ । तिम्बुङ पोखरीको भित्तापटि केन्जो देखेर मख्ख नहुने कुरै भएन । केन्जोको छेउमा उभिनु त्यति सहज छैन् । चट्टान भएको भिरालो पहाडमा फूलेको केन्जो नजिक पुग्न केही कठिन त हुन्छ नै ।
तिम्बुङ पोखरी जाने धेरैको पोखरीपछि महत्पूर्ण ध्येय केन्जोहेर्ने र तस्विर लिने हुन्छ ।पत्रैपत्र परेको पिरामिड जस्तो केन्जो निक्कै सुन्दर छ । साउन फूल्न थाल्ने यो फूलको सौन्दर्ययता आकर्षक छ । पाँचथर, ताप्लेजुङ, संखुवसभा जस्ता जिल्लामा केन्जो देख्न पाइन्छ ।
ठुला पात भएको कन्जो फुल्दा पिरामिड जस्तो देखिन्छ । टावरजस्तो फूल । तलमोटो, उचाई बढ्दै जाँदा सानो सानो हुँदै जाने । केन्जोको फोटो धेरैले घरमा, क्यालेन्डरमा सजाएका छन् । कतिपयले डाँडैभरी टावर समेत भन्ने गरेका छन् ।
यतिबेला उच्च पहाडी, हिमाली क्षेत्रमा अनेक किसिमका फूल फुलेका छन् । यी मध्ये विशेष प्रकारको फूलको रूपमा केन्जो रहेको छ । कतै भित्तामा कतै चउरमा फूलेको देखिन्छ । यो फूलमा औषधीको गुण हुने गरेको बताइन्छ । यो फूल बर्सेनि फूलेको देखिन्छ ।
लेकाली चौर र अग्ला डाँडा निकै आकर्षक देखिएर फूलेको भेटिन्छ । केन्जोलाई नेपालीमा पदमचाल भनिन्छ । पूर्वको चर्चित तिम्बु पोखरी क्षेत्रमा यो भेटिन्छ । टाढाबाट हेर्दा टावरजस्तो सेतो फूलेको वनस्पति लहरै देखिन्छ ।
यसको व्याख्या पहिलोपल्ट ब्रिटिस बोटानिस्ट सर जेसेफ डाल्टन हुकरले गरेको भेटिन्छ । हुकरको पुस्तक कञ्चनजङ्घा जुहार भनेर नेपालीमा समेत अनुवाद भएको छ । उनले ‘हिमालयन जर्नलस नोट्स अफ न्याचुरलिस्ट’मा व्याख्या गरेका छन् । सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा यो वनस्पति देखेको लेखेका छन्।
‘पदमचाललाई मैले पहिलो पल्ट १ माइल टाढाबाट देखेँ । लाछेन उपत्यकाको १४ हजार फिट उचाईमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो । अप्ठ्यारा ठाउँमा थिए । तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिङ्ग उभिएको थियो,’ उनले लेखेका छन् ।
पदमचाल तीन हजार दुई सयदेखि चार हजार पाँच सय मिटरसम्म उचाइमा पाइने वन्यजन्तु र वनस्पति सम्बन्धी अध्येयता सोनाम टासी लामा बताउछन् । नेपाल, भारत र भुटानमा यो वनस्पति भेटिएको छ । यसलाई कृत्रिम तरिकाले युरोपमा पनि उमारिएको छ तथ्य भेट्न सकिन्छ ।