पाँचथर– पूर्वको चर्चित पर्यटकीय गन्तव्य हो तिम्बुङ पोखरी । पोखरी र आसपासको दृश्यको सौन्दर्ययताले निक्कै मोहित पार्छ । समुद्र सतहदेखि ४ हजार ३ सय ५० मिटरमा रहेको पोखरी र आसपासका क्षेत्र निक्कै सुन्दर छन् ।
पोखरीमा पहाडको छाया छर्लङ्ग देखिन्थ्यो भने यहाँ चढाइएका सिक्काहरू टलक्क टल्किएका थिए । पोखरी छेउमा पूजा गर्नेले बालेको धुपको सुगन्ध लिँदै पोखरीको पूरै चेहरा देख्न सकिन्थ्यो । मानिसहरूको चहलपहल थियो । डाँडाहरू कुमारी लाग्थे । जता हेर्यो उतै सुन्दर देखिन्थ्यो । कुहिरो निक्कै तलको पहाडमा थियो भने टाउकोमाथि आकाश थियो । आकाशको निलो रङ प्रकृतिमा प्रतिविम्बित भएको थियो ।यो दृश्य साउनको अन्तिमको हो । तिम्बुङपोखरी जाने सिजन सुरु भएसँगै यहाँ जानेहरूको भिड लाग्न थालेको छ ।
चट्टानले घेरिएको यो पोखरी निकै सुन्दर छ । फराकिलो पोखरी आसपासको दृश्य उत्तिकै सुन्दर मानिन्छ । पोखरीको भित्तामा केन्जो फुलेको देखिन्थ्यो । पत्रपत्र भएको अग्लो केन्जो फूल निकै आकर्षक मानिन्छ । चौँरी, भेडीगोठ भेटिन्छ । पछिल्लो समय बाटो, होमस्टे बनाउने क्रम बढ्दै गएको छ । पर्यटकलाई सुविधा दिने प्रयास भइरहेको पर्यटन व्यवसायी अमिर राई बताउँछन् । दिन ढल्दै जाँदा कुहिरोले पोखरी छोप्छ । डाँडा, पोखरी र कुहिरोको लुकामारी गजब देखिन्छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका र पाँचथरका याङ्वरक गाउँपालिकामा पर्ने यो पोखरी प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ ।
तिम्बुङ पोखरी पदयात्राका लागि साउनदेखि मंसिर पहिलो हप्तासम्मको समय उपयुक्त हुन्छ । तर, अन्य महिनामा पनि यहाँ पुग्नेहरू भेटिन्छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रका रमाइला ठाउँहरू घुम्दै तिम्बुङ पोखरी पुगिने भएकाले यो आकर्षक गन्तव्य मानिन्छ ।
विभिन्न किसिमका फूलहरू फुल्ने प्राकृतिक फूलबारीको रूपमा यो क्षेत्र रहेको छ । यतिबेला केन्जो, माइकोपिल, बुकी फूल, जटामसीलगायतका फूलले यो क्षेत्र ढाकिएको छ । लेकमा चौँरीका क्रियाकलाप हेर्दै प्राकृतिक दृश्यमा रमाउने गरेका छन् ।