पाँचथर । चालु आर्थिक वर्षको पहिलो महिनामा पाथीभरामा झण्डै साढे १० लाख रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको विवरणअनुसार २०८२/०८३ सालको साउन महिनामा १० लाख ३९ हजार रुपैयाँ भेटी संकलन भएको हो। तीर्थयात्रीले चढाएको भेटी रकम प्रत्येक महिना गणना गरी बैंकमा जम्मा गर्दै समितिले सार्वजनिक गर्दै आएको छ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउन महिनामा दुई हजार बढी भक्तजन पाथीभरा पुगे। एक महिनामा दुई हजार एक सय ४६ जना भक्तजनले मन्दिरमा पूजा अर्चना गरेको समितिले जनाएको छ।गत आर्थिक वर्ष ०८१/०८२ मा दुई करोड १७ लाख आठ सय ७६ जना तीर्थयात्री पाथीभरा पुगेका थिए। तीर्थयात्रीबाट तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी संकलन भएको समितिको तथ्याङ्कमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा भने दुई करोड ३१ लाख ३ सय ३४ जना भक्तजन आएका थिए। त्यतिबेला तीन करोड ९८ लाख ४१ हजार ९८९ रुपैयाँ भेटी संकलन भएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष करिब साढे १३ हजार कम तीर्थयात्री पाथीभरा पुगेका थिए भने भेटी संकलन झण्डै साढे ८७ लाखले घटेको समितिले जनाएको छ।