पाँचथर । पाँचथर सदरमुकाम फिदिमसहित जिल्लाका विभिन्न स्थानमा लगातार वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा फिदिममा ४३.८ मिलिलिटर पानी पर्यो, जुन मध्यम वर्षा हो। फिदिममा मध्यम वर्षा भए पनि जिल्लाका केही स्थानमा भने भारी वर्षा भएको विभागले जनाएको छ।
लगातारको वर्षाले बाढी–पहिरोको जोखिम बढेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढी–पहिरोका कारण मेची राजमार्गसहित जिल्लाका आठ स्थानमा यातायात अबरुद्ध भएको छ।
फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ स्थित हेवा खोलाको डाइभर्सन बाढीले बगाएपछि मेची राजमार्ग बुधबार बिहानदेखि बन्द भएको हो। त्यस्तै, फिदिम–१ र ११ स्थित फेमे खोलामा आएको बाढीले डाइभर्सनसम्म पुग्ने पहुँचमार्ग बगाउँदा फिदिम–फलोट सडक पनि बिहानैदेखि ठप्प छ।
फालेलुङ–५ लुदिनटार र फालेलुङ–३ तथा ७ को संगमस्थल घुमाउनेटारमा समेत हेवा खोलाले सडक बगाएको छ। मिक्लाजुङ गाउँपालिका–३ थामथुम र देउरालीको भित्री सडक पहिरोले बन्द भएको छ। यस्तै, याङवरक गाउँपालिका–३ स्थित रिजाल भीरमा खसेको पहिरोले मध्यपहाडी राजमार्ग रोकिएको थियो। उक्त पहिरो हटाएपछि मात्र यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीले जानकारी दिए।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिलिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिलिटरसम्मलाई मध्यम वर्षा, ५० देखि १०० मिलिलिटरसम्मलाई भारी वर्षा, १०० देखि २०० मिलिलिटरसम्मलाई धेरै भारी वर्षा र २०० मिलिलिटरभन्दा बढीलाई अति भारी वर्षा भनिन्छ।
विभागले मध्यरातमै सूचना जारी गर्दै नदी किनार र तटीय क्षेत्रमा बस्ने तथा नदी किनार हुँदै यात्रा गर्नेहरूलाई बिहानसम्म विशेष सावधानी अपनाउन आग्रह गरेको छ।