पाँचथर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा फिदिममा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस फिदिम नगरपालिका–११ को आयोजनामा सम्पन्न कार्यक्रममा वडा सभापती धनपाल नेम्बाङको उपस्थितिमा ८५ वटा फूलका बिरुवा रोपिएको हो। कार्यक्रममा कांग्रेसका कृयाशील सदस्यहरूसँगै शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सभापति नेम्बाङले बीपी कोइरालाको विचार, योगदान र आदर्श आज पनि नेपाली कांग्रेसका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र सिद्धान्तको रक्षा गर्न सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
वि.सं. २०३९ साउन ६ गते निधन भएका कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा मात्र होइन, नेपाली साहित्यमा समेत गहिरो छाप छाड्ने व्यक्तित्वका रूपमा चिनिन्छन्।
बीपी कोइरालाको स्मृतिमा कांग्रेस निकायहरू देशभर विविध कार्यक्रम गरेर स्मृति दिवस मनाइरहेका छन्।