विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापा जिल्ला टोलीले जितेको छ। झापा सँग पराजित बन्दै पाँचथर उपबिजेता बनेको हो । आइतबार विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सम्पन्न प्रतियोगिताको सन्ध्याकालीन फाईनल खेलमा पाँचथर जिल्ला टोली झापा सँग ३ – ० को अन्तरले पराजित हुदै उपबिजेता बनेको हो ।
खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी रहेको झापा टोलीले खेलको पहिलो हाफमै जेनिफर मगरको गोलको सहायताले खेलमा अग्रता लिएको थियो। त्यस्तै खेलको दोस्रो हाफमा पूर्णिमा राई र जेनिफर मगरले एक–एक गोल थप्दै झापाको जित सुनिश्चित गर्नु भएको थियो।
प्रतियोगिताको फाईनल खेलको ‘ वुमन अफ द म्याच ‘ झापाकी मनिता तुम्रोक र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर भइन । प्रतियोगितामा मगर ६ गोल गरेकी थिइन ।
त्यस्तै , प्रतियोगिताको उत्कृष्ट गोलकिपर झापाकी सुशीला चौधरी , उत्कृष्ट डिफेन्स झापाकी नेहा चौधरी , उत्कृष्ट मिडफिलडर झापाकी सिम्रन राई , उत्कृष्ट स्ट्राइकर झापाकी पूर्णिमा राई र उत्कृष्ट प्रशिक्षक झापाका शान्तबहादुर रायमाझी भएका थिए ।
उपाधि सहित झापाले ट्रफी , मेडल, प्रमाणपत्र र नगद १ लाख प्राप्त गर्दा उपविजेता पाँचथरले ट्रफी , मेडल , प्रमाणपत्र र नगद ५० हजारमा चित्त बुझाएको थियो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुनुभएकी मगरले ट्रफी र नगद २० हजार र अन्य विधाको उत्कृष्टले ट्रफी र जनही नगद १० हजार पुरस्कार प्राप्त गरेका थिए ।
फागुन १३ गतेबाट सुरु भएको खेलकुद महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल , महिला तथा पुरुष दौड , पुरुष कब्बड्डी , भेट्रान बाघचाल , महिला तथा पुरुष टेबलटेनिस , महिला तथा पुरुष बुद्धिचाल , महिला तथा पुरुष कराते , महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो।