पाँचथर । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाँचथरमा ८ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । २ सय ५५ खोप केन्द्रबाट १० देखी १४ वर्ष उमेर समूहका ८ हजार ९ सय ५२ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । २२ माघदेखि ६ फागुनसम्म खोप अभियान सञ्चालन हुनेछ ।
जसमा फाल्गुनन्दमा ११७३ जना,हिलिहाङमा ९५४ जना,कुम्मयक गाउँपालिकामा,६०५ जना,मिक्लाजुङ गाउँपालिकामा १०३७ जना,फालेलुङ गाउँपालिकामा ९८१ जना,फिदिम नगरपालिकामा २८०२ जना,तुम्बेवामा ५४० जना र याङवरकमा ८६० गरि जम्मा ८९५२ किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।
माघ २ गतेदेखी ९ गतेसम्म जिल्लाका स्वास्थ्यकर्मी र पालिकाका लागि तालिम प्रदान गरिसकिएको स्वास्थ्य कार्यालय पाँचथरका कार्यालय प्रमुख राजेश मिश्रले जानकारी दिए । खोपको तयारी करिब पूरा भइसककेको मिश्रले बताए ।
किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । यो खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेकाले सबै बालिकाहरूलाई लगाउन आग्रह गरिएको मिश्रले जनाए । पाँचथरका ८ वटै पालिकामा एकैपटक यो अभियान सञ्चालन हुने उनले बताए ।
नेपालमा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले ‘एचपीभी’ खोप अभियान सञ्चालन गरेको हो । पहिलो चरणमा चितवन र कास्कीमा २०७२ र ०७३ मा यो अभियान सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकमा उल्लेख छ ।
यसबाट हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाहरूको मृत्यु हुने गरेको बताइएको छ ।