ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका-५ तापेथोकको सिसेवाखोलामा आएको बाढीले पुलहरु बगाउनुका साथै सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ ।
वर्षासँगै बिहीबार बिहान बाढी आएको थियो । सिसेवाले बगाएर ल्याएको ढुङगा, माटो र गेग्रेनले तमोर नदीमा समेत ड्याम बनाएको वडाध्यक्ष देउप्रसाद लिम्बुले जानकारी दिए । तमोर नदीबाट पानीको निकास भइरहेकोले नदीको ड्यामले ठूलो क्षति पुर्याउन भने नसक्ने उनले आंकलन गरेका छन् । पानीको ड्याम बढे तापेथोक बगरमा रहेका प्रहरी चौकी, स्वास्थ्य चौकी र निजी घरमा भने असर पर्नसक्ने वडाध्यक्ष देउप्रसाद बताउँछन् ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित सिंसेवा खोलामा आएको बाढीले तमोर नदीमा ड्याम बनाएको छ। बुधबार रातिदेखि बिहीबार बिहानसम्म परेको वर्षासँगै आएको बाढीले तमोर नदी आंशिक थुनिएको गाउँपालिका अध्यक्ष मुक्ति लिम्बूले जानकारी दिए।
“बाढीसँगै आएको पहिरोले तापेथोक बगरमा थुप्रिएपछि तमोरमा ताल बनेको छ,” उनले भने, “यसले त्रास बढाएको छ। ताल एकै पटक फुट्यो भने तल्लो क्षेत्रमा ठूलो क्षति पुग्ने सम्भावना छ।”
तापेथोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुरज सिंजालीकाअनुसार कति पुल बगायो भन्ने अध्ययन भइरहेको छ । ‘खोलो पाथीभरा छेउ देखि नै आउने र थुप्रै अस्थायी पुल भएकाले सोधीखोजी गरिरहेका छौं,’ सिंजालीले भने, ‘गाउँपालिका छेउका अस्थायी पुलहरु भने बगाएको छ ।’ खोला पारीको गाउँबाट आउने २५ देखि ३० जना विद्यार्थीलाई पानी नरोकिएसम्म र खोला नघटेसम्म स्कुल नपठाउन अभिभावकलाई आग्रह गरेको सरस्वती माविका प्रधानाध्यापक चन्द्रमणि लिम्बूले बताए ।
यो खोलो तरेर आउने विद्यार्थीले तर्ने उपाय नभएकाले अभिभावक र विद्यार्थीलाई पनि फोन गरेर नपठाउन र नआउन भनेको उनले बताए । पाथीभरा मन्दिर छेउबाट बहने खोलामा लेकमा पानीपर्दा पनि बाढी आउने गरेको छ । पानी पर्नेक्रम जारी रहेकाले रोकिएपछि मात्रै यातायात सञ्चालन, विद्यालय नियमितता लगायतका विषयमा छलफल गर्ने वडाध्यक्ष लिम्बू बताउँछन् ।




