ताप्लेजुङ । तेस्रो सिरिजंगा गोल्डकपको उपाधि इलाम सन्दकपुरको देउराली स्पोर्टिङ क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा झापाको न्यूस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको २४ औं मिनेटमा झापाका अभिषेक लिम्बूले गरेको आत्मघाती गोलसँगै झापाको ओरालो यात्रा सुरु भएको थियो । दोस्रो हाफको २२ औं मिनेटमा इलामका बिकेश लिम्बूले करिब २५ याड टाढाबाट प्रहार गरेर गोल थप्दै उपाधि पक्का गरे ।
विजेता इलामले २ लाख २ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता झापाले १ लाख ११ हजार रुपैयाँमा चित्त बुझाउनु परेको छ ।
किरात लिम्बू साहित्यका साहित्यकार तथा लिम्बू भाषा र लिपिका पुनरुत्थानकर्ता सिरीजंगा सिं थेवेको जन्मजयन्तीको अवसर पारेर विगत तीन वर्षदेखि यो प्रतियोगिता हुँदै आएको छ ।