विराटनगर । प्रदेश १ को राजधानी विराटनगर पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको छ । दैनिक थपिने कुल सङ्क्रमित मध्ये करिब आधाको सङ्ख्यामा विराटनगरका नागरिक सङ्क्रमित हुन थालेको छन् । यो सँगै विराटनगर कोरोनाको हटस्पट बन्ने खतरा बढेको छ। मंगलबारमात्र प्रदेश भरी कुल एक हजार ७१ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । मंगलबारको कुल परीक्षणमध्ये ५१ दशमलव ८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।
एक हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना सङ्क्रमण भएकोमा मोरङ जिल्लाका ४४८ रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।परीक्षण गरिएका मध्ये प्रदेशको राजधानी रहेको विराटनगरका मात्र ३८६ जना रहेका छन् । यो तथ्याङ्कले मोरङ त्यसमा पनि विराटनगरमा कोरोनाको भयावह अवस्थाको सङ्केत गरेको छ । मंगलबार कुल परीक्षणको अनुपातमा प्रदेशमा ५१ दशमलव ८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ । त्यसमा मोरङका ४५ प्रतिशत रहेका छन् भने विराटनगरका ४१ दशमलव ९१ प्रतिशतमा एकै दिन कोरोना पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले माघ १ यता मात्र कोरोनाको दर उच्च दरमा बढेको देखाएको छ । माघ १ गते प्रदेश १ मा ३२० जनामा कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ अर्थात् ४६ दशमलव १८ प्रतिशत र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा अर्थात् १८ दशमलव २५ प्रतिशत सङ्क्रमण देखिएको छ । कुल सङ्क्रमित मध्ये सबै भन्दा बढी मोरङमा १२९ त्यसमा विराटनगरका मात्र ११३ रहेका थिए ।
त्यसै गरी माघ २ गते ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ अर्थात् ४३ दशमलव ७४ प्रतिशत र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जना अर्थात् १६ दशमलव ८० प्रतिशतमा सङ्क्रमण देखिएको थियो । कुल परीक्षणका आधारमा मोरङमा सबै भन्दा बढी मोरङमा १६६ र विराटनगरमा मात्र १ ३७ जना रहेका थिए ।त्यसै गरी माघ ३ गतेको परीक्षणमा ६१७ जनामा कोरोना सङ्क्रमण भएको थियो । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ अर्थात् ५८ दशमलव ६१ प्रतिशत र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जना अर्थात् २५ दशमलव २६ प्रतिशतमा सङ्क्रमण देखिएको थियो । पीसीआर परीक्षणका आधारमा सबै भन्दा बढी मोरङमा २२७ र विराटनगर १९१ जना सङ्क्रमित पुष्टि भएको थियो ।
प्रदेश त्यसमा पनि मोरङ र त्यसमा पनि विराटनगरमा लगातार कोरोना सङ्क्रमणको दर उकालो लागेको अवस्थामा मंगलबार एकै १ हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।१ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ अर्थात् ५९ दशमलव १५ प्रतिशत र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जना अर्थात् २९ दशमलव ५९ प्रतिशतमा कोरोना सङ्क्रमण भएको छ । मंगलबार एकै दिन मोरङमा ४४८ र विराटनगरमा ३८६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।जनस्वास्थ्य विज्ञ डा नवराज सुब्बाले प्रदेश भरीको सङ्क्रमित दरसँगै विराटनगरमा तीन जना मध्ये एक जनामा कोरोना पुष्टि हुने अवस्था देखिँदै गएकाले विराटनगर कोरोनाको हटस्पट बन्ने खतरा निम्त्याएको बताए ।
उनले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले तत्काल सिमानाकालाई थप व्यवस्थित गर्नुपर्ने, बिरामीको उपचारको प्रबन्ध मिलाउने र बढीभन्दा बढी खोप लगाउन सर्वसाधारणलाई आकर्षित गर्न तर्फ सरकारको ध्यान केन्द्रित गर्नुपर्ने बताए । सुब्बाले भने, ‘भोलि कोरोनाको भयावह स्थितिको सङ्केत आजबाटै देखिदैछ। सरकार सम्पूर्ण रूपमा व्यवस्थापनको पक्षमा अहिलेदेखि नै नलागे यसले भोलि ठुलो जोखिम निम्त्याउने छ ।’
प्रदेश १ मा आज ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १८ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । प्रदेशमा मंगलबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६७ पुगेको छ।जसमा ५६ जना अस्पताल भर्ना भएका छन् ।
२३ जनाको आइसियुमा ८ जनाको भेन्टिलेटर ३१ जनाको एचडियुमा र दुई जनाको जनरल बेडमा राखेर उपचार भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अन्य सबै सङ्क्रमित होम आइसोलेशनमा रहेका छन् ।