पाँचथर । पाँचथरमा यहि पुस २६ गते देखि अतिरिक्त खोप बितरण हुन लागेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमणलाई मध्यनजर गर्दै सरकारले जोखिम वर्गलाई अतिरिक्त खोप दिने निर्णय गरे संगै पाँचथरमा पनि २६ गते बाट खोप बितरण गर्न लागेको स्वास्थ्य कार्यलय पाँचथर प्रमुख तेज बहादुर तुम्बापोले केन्जो खबर डटकमलाई बताएका छन् ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा कोभिडशिल्ड खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप लगाएका दीर्घरोगीलाई थप एक मात्रा खोप दिइने तुम्बापोले जनाएका छन् ।
मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीहरुले अतिरिक्त खोप पाउने छन् ।
खोप नलगाएका र पहिलो भेरोसेल खोप लगाएर दोस्रो लगाउन बाकी सबै १८ बर्ष देखि माथिका सबै नागरिकलाई जिल्लामा पुग्ने भेरोसेल खोप आएको जानकारी दिएका छन् । केन्द्रले पाँचथर जिल्लाको लागि ६५ हजार खोपको लक्ष्य राखेको भए पनि जिल्लामा ४१ हजार खोपको आवश्यकता भएकोले आवश्यकता अनुसार ल्याएको र आवश्यक परे अझै आउने तुम्बापोले बताएका छन् ।
अतिरिक्त खोपको लागि स्वास्थ्य कार्यलयमै आउनु पर्ने र अतिरिक्त मात्रा खोप लगाउन पुरानो खोप कार्ड र आफ्नो स्वास्थ्य उपचार गरेको कागजात लिएर खोप केन्द्रमा जानुपर्ने तुम्बापोले बताएका छन् ।