यासोक– पाँचथरको कुम्मायक गाँउपालीका– १* का वार्ड अध्यक्ष देवेन्द्र लावती जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । यासोक बजारमा आयोजित सभामा उक्त पार्टीका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बावुराम भटराई लगायतका नेताहरुले लावतीलाई पार्टीमा स्वागत गरे ।
लावतीले स्वतन्त्रवाट वार्ड अध्यक्ष जितेका थिए । उक्त सभामा ठुलो संख्यामा पार्टी प्रवेश गराईएको थियो । यासोक क्याम्पसका प्रमुख कर्ण लावती, राप्रपा पाँचथरका पूर्व उपाध्यक्ष विश्वेश्वर वेघा लगायतका ५ सय कार्यकर्ता प्रवेश गरेको उक्त पार्टिले जानकारी दिएको छ ।
सभालाई सम्बोधन गदैै पूर्व प्रधानमन्त्री भटराईले नेपालमा प्रत्यक्ष राष्ट्रपती निर्वाचन हुने व्यवस्था नभएसम्म स्थायीत्व नहुने बताए । दुई तिहाई नजिकको सरकार टिक्न नसकेको बताउँदै पूर्ण समानुपतीक निर्वाचन प्रणाली र राष्ट्रपती प्रणाली आवश्यक रहेको धारणा राखे ।
परिर्वतनका लागि आफू लागेको बताएका भटराईले परिवर्तन पक्षधर एकजुट भएर अघि बढ्न आव्हान समेत गरे । उक्त पार्टीले यासोकमा उलेख्य संख्यामा कार्यकर्ता भेला गरेको थियो । २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि २०७२ मा बनेको संविधानबाट पनि जनताले चाहेको परिवर्तन पुरा नभएको बताउँदै संसारमा कुनै पनि परिवर्तन एक्कै झड्कामा पुर नहुने र परिवर्तन सापेक्ष ढंगले पुरा हुन्छ, त्यतिबेला बाँकी काम पुरा गर्नका निम्ति नथाकेका, नहारेका,जिउँदा मान्छेहरु फेरि अगाडी आउनु पर्ने भएकाले अहिले त्यस्ता मानिसहरुको जमघटले जनता समाजवादी पार्टी बनेको जिकिर गरेका छन् । यस पार्टीलाई सचेत कार्यकर्ताको साथ सहयोग पाए जनताको अपेक्षा अनुरुपको १० जोड एक संघीय प्रदेश सहितको समृद्ध नेपाल निर्माण गर्न सकिने बताए ।
पार्टीका केन्द्रिय कार्यकारीणी सदस्य तथा पूर्वमन्त्री रकम चेमजोङ केन्द्रिय सदस्य एवं १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री जयराम यादव, केन्द्रिय सल्लाहकार एवं वेस्टर्न मिचिगन युनिभर्सिटी अमेरिकाका प्रोफेसर डा।महेन्द्र सुन्दर लावती, केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम,केन्द्रिय सदस्य सिल्पी विशेष क्षेत्रका अध्यक्ष दलमर्दन कामी,केन्द्रिय समिति सदस्य रोसन पोख्रेल,जिल्ला अध्यक्ष लक्ष्मण लावती,महिला नेतृ शर्मिला आङ्देम्बे,गणेश चेम्जोङ लगायत केन्द्रिय तथा प्रदेश,जिल्ला नेताहरुको सहभागितामा रहेको थियो । विभिन्न बाजागाजा र साँस्कृतिक कार्यक्रम सहित सम्पन्न आमसभा कुम्मायक गाउँपालिका अध्यक्ष टिएन सम्बाहाम्फेको अध्यक्षतामा गरिएको थियो ।
* यस अघि वार्ड नम्बर फरक परेकाले सच्याइएकाे छ ।