झापा । झापाको हल्दीबारी-२ की नेत्रमाया पराजुलीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्। बिहीबार साँझ झापाको बिर्तामोडस्थित मनमाेहन अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको हो ।
मनमाेहन अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एकराज गौतम नेतृत्वको चिकित्सकीय टोलीले गरेको डेढ घण्टा लामो शल्यक्रियापछि ती शिशु जन्मिएका हुन् ।
तिम्ल्याहा शिशुमध्ये दुई जना छोरा र एक छोरी छन्। पहिलो जन्मिएको बच्चाको तौल २.२ किलाे छ। दोस्रो बच्चाको तौल १.६ र तेस्रो बच्चाको तौल २ किलो रहेको डा. गौतमले जानकारी दिए ।
सुरुमा पटक पटक बच्चा खेर जाने समस्या देखिएपछि चिन्तित भएका नेत्रमाया र उनका श्रीमान् सन्तोस पराजुली एकवर्ष अघि मनमोहन अस्पतालको सम्पर्कमा आएका थिए ।
‘उहाँहरुले धेरै ठाउँ धेरैपटक चिकित्सकको सल्लाह लिएको थाहा भयो’, डा. गौतमले भन्नु भयो, ‘कतैबाट पनि समाधान नभएपछि उहाँहरू मनमोहन आउनु भएको रहेछ ।’
बच्चा खेर जाने समस्यापछि बच्चा नबस्ने अर्को समस्या थपिँदा दम्पति झन् चिन्तित भएका थिए । डाक्टर गौतमले पाठेघरको जाँचपछि नेत्रमायाकाे औषधि उपचार सुरु गरेको थिइन् ।
निरन्तरको जाँच र चिकित्सकीय निगरानीपछि ३५ सातामा शल्यक्रिया गरी बच्चा निकालिएको हो । डाक्टर गौतमका अनुसार तीनै जना बच्चाको स्वास्थ्य अवस्था सामान्य छ ।
यद्यपि, उनीहरुलाई चिकित्सकीय निगरानीमा अस्पतालमै राखिएको छ । यसअघि डेढ वर्षअघि पनि मनमोहन अस्पतालमा तिम्ल्याहा बच्चाको जन्म भएको थियो ।
झापाको धुलाबारीकी निर्मला रिजालले एकैपटक दुई छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । ती ती तिम्ल्याहा हुर्कदै गएका छन्।
२०७७ असोज ४ गते २५ वर्षीया निर्मलाले बिर्तामोडको मनमोहन अस्पतालमा साइमनजङ्ग, साइना र सियोनजङ्ग रिजाललाई जन्म दिएकी थिइन्। साइना र साइमनको तौल २ किलो थियो भने सियोनजंग १ किलो ६ सय ग्रामका थिए।
केटिएम दैनिकबाट