काठमाडौँ । नेपालका जंगलमा खान मिल्ने २५६ प्रकारका फल पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘वाइल्ड इडिबल फ्रुट्स अफ नेपाल’मा २५६ प्रकारका खान मिल्ने फल सूचिकृत भएको हो । नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत लोकरञ्जन भट्ट मुख्य लेखक रहेको यो पुस्तकले खान मिल्ने फलहरुमध्ये ६१ प्रतिशत पहाडी क्षेत्रमा पाइने उल्लेख छ । यसअघि सन् २०२०मा प्रकाशित एक वैज्ञानिक आलेख अनुसारमा नेपालका जंगलमा १९९ प्रकारका खाना मिल्ने फलहरु पाइने उल्लेख थियो ।
पहाडी क्षेत्रको भौगोलिक अवस्था, जलवायु, जैविक विविधता, तापक्रमले पनि जंगली फल धेरै पाइएको उनले बताए । नेपालको कूल भू–भागमध्ये ४४.७४ प्रतिशत वन क्षेत्रले ओगटेको छ ।
यी फल विभिन्न ६८ परिवार अन्तर्गतका ११४ प्रजातिभित्र पर्छन् । सबैभन्दा बढी ‘रोजेसी’ परिवारका छन् । यो परिवारका ४४ प्रकारका फल खान मिल्ने पाइएको भट्टले बताए । ७ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको वनस्पतिविद् समेत रहेका भट्टले बताए । ‘संख्या धेरै पनि हुन सक्छ । मैले पुराना अनुसन्धान, फिल्ड भिजिटबाट तथा लिटरेचरहरुको अध्ययनबाट संकलन गरेको हुँ,’ भट्टले कान्तिपुरसित भने ।
नेपालमा ६ सय प्रकारका खान मिल्ने वनस्पतिजन्य उत्पादन छन् । तीमध्ये ३७४ जंगल क्षेत्रबाट प्राप्त हुने पुस्तकमा उल्लेख छ ।