पाँचथर । लिम्बू भाषालाई गाउँपालिकाको कामकाजी भाषा बनाइ सकेको फाल्गुनन्द गाउँपालिकाले गाउँपालिका भित्र रहेका खस आर्य समुदायको लागी पनि खसआर्य कर्मकाण्ड प्रवर्द्धन सम्बन्धी कार्यक्रम संचालन गरेको छ । केहि समय पहिलानै मातृभाषा पढाइ सुरु गरेको फाल्गुनन्द गाउँपालिकालले गत वर्षदेखि लिम्बू भाषालाई गाउँपालिकाको कामकाजी भाषा बनाएको थियो ।
लिम्बू समुदायको बाहुल्यता रहेको फाल्गुनन्द गाउँपालिकामा पहिलो पटक खसआर्य समुदायलक्षित कार्यक्रम संचालन भएको हो । अन्य लक्षित वर्ग आदिवासी जनजाति, दलित, महिला, युवा, बालबालिकालगायतको क्षेत्रका लागि मात्र कार्यक्रम तर्जुमा गर्दै आएको गाउँपालिकाले खसआर्य समुदायका लागि समेत कार्यक्रम तर्जुमा गरेपछि खसआर्य समुदाय उत्साहित भएका छन् ।
गाउँपालिकाले खस आर्य समुदायको लागी तीन दिवसीय खसआर्य कर्मकाण्ड प्रवर्द्धन सम्बन्धी कार्यक्रम संचालन भएको हो । उक्त कार्यक्रममा खस आर्यको जन्म, विवाह, मृत्यू पश्चात गरिने काजकिरिया, पाश्नी, वार्षिक रुपमा गरिने पाठपूजा र धर्मसंस्कार सम्बन्धी जानकारी बताइएको छ ।
कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाबाट ४० जना खसआर्य समुदायका अग्रजहरुको सहभागिता रहेको छ । फाल्गुनन्दमा लिम्बू ५५ प्रतिशत, खसआर्य १५ प्रतिशत, राई १० र तामाङ १० प्रतिशत, दलित ५ प्रतिशत, मगर, सुनुवार र नेवार १ प्रतिशत र माझी, कुमाललगायत अल्पसंख्यक २ प्रतिशत रहेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।