पाँचथर । वरिपरि टल्किएको हिमाल,चिसो सिरेटोले सुन्दर पूर्वको प्रसिद्ध तीर्थस्थल मानिएको पाथीभरा धाम ,यति बेला लिम्बू समुदायको परम्परागत लोकबाजा च्याब्रुङको स्तम्भ बनाइएर अझ सुन्दर देखिएको छ । वरिपरि बस्न मिल्ने गरी चौतारी बनाएर बीचमा स्तम्भ राखिएको हो ।
स्तम्भबाट सेता हिमाल टलटल देखिँदा हरकोहिको मन पुलकित हुन्छ । परम्परागत संस्कृतिको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ जापान शाखाको आर्थिक सहयोगमा चौतारी निर्माण गरिएको निर्माणमा खटिएका
भक्त लिम्बूले बताए ।
पाथिभरा धाम पुग्न ३ किलोमिटर उकालो हिडेपछी मन्दिर पुग्नु अगाडि थकाइ मार्ने सुन्दर चौतारी हो च्याब्रुङ स्तम्भ स्थल । यो बाजा विवाह, जन्म, उत्सव, घरपैंचो, मेला महोत्सव जस्ता शुभकार्यमा बजाइन्छ ।
२७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चौतारी पाथीभरा प्रवेशद्वारको बाहिर रहेको छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा बालुवा, सिमेन्टलगायतका सामग्री लगेर निर्माण गरिएको हो । काफ्लेपाटीसम्म ढुवानीका साधनमा र त्यहाँबाट मान्छेलाई बोकाएर लगेको लिम्बू बताउँछन् ।
यसले लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई संरक्षण गर्न मद्दत पुर्याएको किरात याक्थुम चुम्लुङका केन्द्रीय सदस्य बालचन्द्र आङ्बोहाङले बताए ।
पाथीभरा जाने हरेकजसो यात्रुले यसबारे जिज्ञासा राख्ने गरेको भक्त बताउँछन् । ‘उकालो चढेर गएपछि मन्दिर प्रवेश गर्नुअघि एकछिन थकान मेटाउने र फोटो खिचाउने ठाउँ पनि भएको छ,’ लिम्बूले भने, ‘चिन्नेले आहा भन्छन्, नचिन्नेले यो चाँही के रहेछ भनेर सोध्छन् ।’ यो स्तम्भले लोप हुन लागेको च्याब्रुङ लाई पुन ताजा बनाएको छ ।