पाँचथर। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –४ का लाखबहादुर लिम्बुले गत वर्ष ३४ मन खुख्खा अलैंची फलाएका थिए । ६० रोपनी जमिनमा अलैंची खेती गर्दौ आएका उनी यस वर्ष भने २० मन भन्दा कम उत्पादन भएको बताउँछन् ।
दुई वर्ष अघि सोही जमिनमा ५० मन सुख्खा अलैंची उत्पादन गर्दै आएका लिम्बुले प्रत्येक वर्ष उत्पादनको मात्रा घट्दो दरमा रहेको जनाए । “दुई, वर्ष अघि ५० मनसम्म अलैंची उत्पादन भएको थियो, गत वर्ष ३४ मनमा झ¥यो” लिम्बुले भने, “यस वर्षको उत्पादन २० मन पनि छैन ।”
पछिल्लो समय खरेडी र बोट मर्ने कारणले उत्पादन घटेको चौतर्फी बहस भइरहेको छ । तर, फक्ताङलुङ गाउँपालिका लेकाली भेगमा पर्छ । अलैंचीका लागि आवश्यक सिंचाइको कुनै अभाव छैन । वर्षेनी घट्दो उत्पादनले कृषक निरास छन् । “यो क्षेत्रका कृषकलाई सिंचाइको अभाव पनि छैन । फल लाग्ने समयमा किरा लागेर बोट म¥यो । अहिले रोपेको मध्ये आधा बोटमा बाँकी छ” लिम्बुले भने ।
यस वर्ष अलैंचीको मूल्य गत वर्षको तुलनामा दोब्बर छ । अहिले झापाको बिर्तामोडमा अलैंची प्रतिमन ४१ हजार रुपैयाँसम्म कारोबार भइरहेको छ । “मूल्य बढ्दाको खुशी भन्दा उत्पादन घट्दाको पीडा धेरै छ” लिम्बुले कारोबार दैनिकसँग भने, “मूल्य त दोब्बर भएको छ । उत्पादन भने ह्रवात्तै घटेको छ ।” बोट मर्ने र उत्पादन घट्ने क्रम नरोकिएकाले अलैंची खेती नै मासिने डर रहेको लिम्बु सुनाउँछन् ।
इलामको देउमाई नगरपालिका –४ का कृषक लिला रेग्मी गत वर्षको तुलनामा २० प्रतिशत मात्र उत्पादन भएको बताउँछन् । गत वर्ष ८ मन सुख्खा अलैंची उत्पादन गरेका रेग्मीले यसवर्ष २ मन मात्र उत्पादन रहेको बताए । “अलैंचीलाई गानो मर्ने रोग लागेको छ” रेग्मीले भने, “यही दरमा मर्ने हो भने बगान नै सखाप हुन्छ ।” गत वर्ष २ लाख ८० हजार रुपैयाँको अलैंची बिक्री गरेका रेग्मीले यो वर्ष ७० हजार रुपैयाँको उत्पादन भएको बताए ।
‘हामीले प्राविधिक देखेका छैनौँ’
अन्य खेती भन्दा अलैंची खेतीबाट चार गुणा फाइदा भएको भन्दै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –६ का दिलकुमार लिम्बुले धान, मकै खेती गर्दै आएको जमिनमा अलैंची लगाए । अलैंचीको बोट मरेर उत्पादन घटेसँगै हिजोआज उनी पुरानै पेसामा फर्कने सोचमा छन् ।
“म अलैंची टिप्ने तयारीमा छु, अधिकांश बोट मरेको छ” लिम्बुले भने, “नमरेको बोटमा पनि उत्पादन राम्रो छैन ।” सरकारले अलैंची खेतीका लागि आवश्यक प्राविधिकको व्यवस्था नगर्दा अलैंची के कारणले म¥यो भन्ने थाहा पाउन नसकेको लिम्बु बताउँछन् । लामो समयदेखि अलैंची खेती गर्दौ आएका उनले अहिलेसम्म अलैंचीको प्राविधिक नै नदेखेको उनले सुनाए । रोगको निदान गर्न दक्ष प्राविधिक नहुँदा व्यवसायबाट पलायन हुने अवस्था आएको कृषक बताउँछन् ।
सरकारलाई अलैंची खेतीमा आवश्यक प्राविधिक व्यवस्थापनका लागि बारम्बार अपिल गदैँ आएको नेपाल अलैंची व्यवसाय माहसंघका अध्यक्ष राजकुमार कार्कीले बताए । नगदेबालीका रुपमा स्थापित अलैंची खेतीमा बोटको गानो कुहिने र पातमा दाग देखा पर्ने रोग लागेपछि यस वर्ष उत्पादनसमेत घटेको कुरा कृषकबाट आएको अध्यक्ष कार्कीको भनाई छ ।
“यस वर्ष मूल्य त वृद्धि भएको छ । तर, उत्पादन घटेकाले मूल्य वृद्धि भयो भनेर खुशि हुने अवस्था पनि छैन” कार्कीले भने, “किसानलाई अलैंची खेती सम्बन्धी प्राविधिक ज्ञान छैन । जसकारण उत्पादन घट्दो दरमा छ ।” औल भेगमा आवश्यक सिंचाइको व्यवस्था नहुँदा खडेरीका कारण पनि अलैंची उत्पादन घटेको कार्कीले बताए ।
मूल्य दोब्बरले वृद्धि
साउन अन्तिमदेखि कृषकले उत्पादन गरेको अलैंची बजारमा आउने गर्छ । गत वर्षको असोजमा अलैंची प्रतिमन २० हजार रुपैयाँदेखि २२ हजार रुपैयाँसम्म कारोबार भएको थियो । यस वर्ष भने नेपाली अलैंची चलनचल्तीको प्रतिमन ३९ हजार कटिङ गरेको १. नम्बर ४१ हजार रुपैयाँसम्म खरिदबिक्री भएको अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष निर्मल भट्टराईले बताए । यो वर्ष अन्र्तराष्ट्रिय बराजमासमेत मूल्य वृद्धि भएको उनको भनाई छ ।
यसवर्ष नेपाल साथै भारत, भुटानमासमेत उत्पादनमा ह्रास आएको बिर्तामोडका अलैंची निर्यात व्यवसायी ओम बिमली बताउँछन् । “ग्रेडिङ गरेको अलैंची प्रतिमन ४२ हजार रुपैयाँसम्म खरिदबिक्री गरिरहेको छु” बिमलीले भने । मूल्य थप बढ्ने आशाले अधिकांश कृषकले उत्पादित अलैंची ‘होल्ड’ गरेर राखेको पाँचथरका व्यवसायी प्रकाश नेपाल बताउँछन् । “गत वर्ष यहि समयवधिमा मैले २ सय ५० मन अलैंची खरिद गरेको थिए” नेपालले भने, “यो वर्ष ५० मन मात्र खरिद गरेको छु ।” समग्रमा उत्पादन घटेको उनको भनाई छ ।
घट्यो निर्यात
पूर्वी नाका काँकडभिट्टाबाट नेपालमा उत्पादित ९० प्रतिशत अलैंची निर्यात हुँदै आएको छ । उत्पादिन वस्तु तथा सेवामध्ये सबैभन्दा धेरै निर्यात हुँदै आएको अलैंचीको निर्यात यस वर्ष घटेको छ ।
आर्थिक वर्ष २०७८\७९ को पहिलो महिनामै अलैंचीको निर्यात घटेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । चालु आर्थिक वर्षको भदौसम्मको तथ्यांक हेर्ने हो भने मेची भन्सारबाट ४ लाख ४१ हजार किलो अलैंची निर्यात भएको छ । सोही अवधिमा गत वर्ष दोब्बर अलैंची निर्यात भएको थियो । गत वर्षमा हालसम्मकै उच्च अलैंची निर्यात भएको मेची भन्सारको तथ्यांकमा छ । बजार दैनिकबाट ।