काठमाडौं । नेकपा एमालेलाई फेरि फुटाउन सक्ने ठानिएका दोस्रो पुस्ताका हस्ती नेताहरु पछि हटेका छन् । उपाध्यक्ष भीम रावलसहितका हस्ती नेताहरु एमालेमै रहने निर्णयका साथ पछि हटेका हुन् । अध्यक्ष केपी शर्मा ओलीसँग भित्री सम्झौता गरेर उनीहरुले आत्मसमर्पण गरेको विश्लेषण हुन थालेको छ ।
ओलीले २ जेठ २०७५ को अवस्थामा पदाधिकारीका रुपमा रहन भनेपछि उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यलगायतले आत्मसमर्पण गरेका छन् । यो समूह विगतमा माधव नेपालको साथमा रहँदै आएको थियो । नेपालले एमाले विभाजन गरेपनि उनीहरुले साथ दिएका थिएनन् ।
एमाले एकताका लागि कार्यदलको १० बुँदे सुझाव कार्यान्वयनलगायतको शर्त ओलीसामु राख्दै आएका नेताहरु पछि हटेका छन् । उनीहरुले माधव नेपालसँगको एकता समेत अहिलेलाई असम्भव देखेर एमालेमै रहने निर्णय लिएका हुन् । अब बस्ने स्थायी कमिटी बैठकमा पनि रावलसहितका नेताहरु सहभागी हुने भएका छन् ।
९ भदौमा एमालेको विभाजनबारे निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्नु अघि विगतमा माधव नेपाल पक्षमा रहेर फुटेको पार्टीमा नगएका नेताहरुले कित्ता अझ स्पष्ट पारेका हुन् । उनीहरुले अब एमाले नफुट्ने सन्देश समेत प्रवाह गरेका छन् ।