उमेरले २५ वर्ष नाघेपछि जो केहीले एउटा प्रश्न झेल्ने गर्छन्, ‘अहो ! विवाह गर्ने बेला भएन र ?’ निश्चित उमेरपछि विवाह गर्नुपर्छ भन्ने सामाजिक धारणा छ । तर, सबैले यो धारणालाई मान्छन् भन्ने छैनन् । कतिपय यस्ता पनि हुन्छन्, जो अविवाहित बस्न रुचाउँछन् ।
नेपाली समाजमाको अर्को मान्यता के पनि छ भने जन्म, मृत्यु र विवाह पहिले नै तय भएर आएको हुन्छ । यसलाई ‘भाग्यको खेल’ भनी पनि अर्थ्याउने गरिन्छ । खासगरी विवाह गर्ने रहर एवं इच्छा भएपनि कतिपयको लागि भने यस्तो साइत जुर्दैन । त्यसैले चाहेरै पनि कतिपय अविवाहित हुन्छन् । तर, अहिलेको समाजमा यस्ता पुस्ता पनि बढ्दैछन्, जसलाई एक्लो जीवन बढी रुचिकर छ । अर्थात् उनीहरू विवाह गर्न चाहँदैनन् । श्रीमान् वा श्रीमतीको रुपमा अर्को कसैलाई आफ्नो जीवनमा समावेश गर्न चाहँदैनन् ।
केही समयअघि एक सर्वेक्षण भएको रहेछ, यस्तै विषयमा । उक्त सर्वेक्षणको नतिजा के देखियो भने अहिले कतिपय युवापुस्ता अविवाहित बस्न रुचाउँछन् । यसरी अविवाहित बस्न रुचाउनेहरूको जमात क्रमश: बढ्दो छ ।
किन उनीहरू विवाहको पक्षमा छैनन् ? के उनीहरू दाम्पत्य सुखभोग लिन चाहँदैनन् ? पारिवारिक जीवनको आनन्द लिन चाहँदैनन् ?
हामीकहाँ २०-२२ वर्ष पार गरेपछि विवाहका लागि योग्य उमेर मानिन्छ । पारिवारिक जीवन चलाउनका लागि विवाहलाई एक अनिवार्य शर्त मानिन्छ । त्यसैले आफ्नो वंशलाई निरन्तरता दिने मेलो मानिन्छ विवाहलाई । त्यसैले जब छोराछोरी किशोरवय पार गर्छन्, आमाबुबालाई हतार हुन्छ उनीहरूको घरजाम गरिदिने ।
तर, यस किसिमको पारिवारिक शर्त मञ्जुर गर्न सबै तयार हुँदैनन् । कतिपय युवा विवाहको विपक्षमा उभिन्छन्। खासमा विवाह गरेपछि जसरी निश्चित शर्त र सीमामा बाँधिनुपर्छ, त्यसबाट उनीहरू उन्मुक्ति खोज्ने रहेछन् । विवाह गरेपछि उन्मुक्त जीवनको स्वाद लिन पाइँदैन भन्ने उनीहरूको धारण पाइयो ।
विवाहपछि
विवाह गर्नुअघिसम्म हामी आफ्नो मर्जीअनुसार चल्ने गर्छौं । कतै जानु परेमा फुत्त निस्केर हिँड्न सकिने, घरबाहिरै लामो समय बस्न सकिने । घुमफिर गर्नका लागि कसैको अनुमति लिइरहनुपर्ने । पारिवारिक बन्दोबस्ती गरिरहनुनपर्ने ।
जब विवाह हुन्छ त्यसपछि सबै कुरा हाम्रो मर्जीअनुसार चल्दैन । हरेक कुरामा पारिवारिक सहमति खोज्नुपर्ने हुन्छ । परिवारको मर्जी सर्वोपरी हुन्छ ।
त्यसैले त यसलाई कतिले ‘सम्झौता’, कतिले ‘बन्धन’ भनेर समेत अर्थ्याउने गर्छ ।
आफ्ना पार्टनरको इच्छा, रुचि र आकंक्षाअनुरुप आफूलाई बदल्नुपर्ने हुन्छ । पार्टनरका लागि धेरै कुरा त्याग्नु वा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसपछि आफन्त, इष्टमित्र पनि बढ्छन् । बालबच्चा हुन्छन् । आफ्नो दायित्व अरू बढ्दै जान्छ । छोराछोरी पालनपोषण गर्नुपर्ने, घरायसी कामकुरो मिलाउनुपर्ने जस्ता गृहस्थी जीवनमा फन्को लगाउनुपर्नेहुन्छ । यतिबेला आफ्न रहर, इच्छा, आकांक्षा, उद्देश्यसमेत खुम्चन पुग्छ । सबै कुरा आफूले चाहेजस्तो हुँदैन । अतः पारिवारिक जीवनको यो पक्षलाई नरुचाउनेहरू अविवाहित बस्न चाहन्छन् ।
जो आफूलाई बढी माया गर्छन्
नित्तान्त आफ्नो लागि सोच्ने वा आफू केन्द्रित भएर हरेक कुराको निर्णय लिन चाहने व्यक्ति पनि अविवाहित बस्न रुचाउँछन् । उनीहरू आफ्नो मर्जीअनुसार स्वतन्त्र रुपले हिँडडुल गर्न वा कुनै पनि काम गर्न खोज्छन् । घर, परिवारभन्दा बढी आफूलाई महत्व दिन्छन् । उनीहरूलाई विवाह बोझिलो लाग्ने गर्छ ।
जो सम्झौता गर्न तयार हुँदैनन्
जब हामी अर्का व्यक्तिसँग आफूलाई एकाकार गर्ने प्रयास गर्छौं । तब हामीले आफूलाई ‘आफ्नो गोरुको बाह्रै टक्का’ भन्न मिल्दैन । धेरै कुरामा सम्झौता गर्नुपर्छ । तर, जो कुनैपनि कुरामा सम्झौता गर्न राजी हुँदैनन्, उसले अर्कासँग सम्बन्ध बनाउन सक्दैनन् वा चाहँदैनन् ।
जो सिङ्गल व्यक्तिबाट प्रभावित छन्
विवाह गर्नैपर्छ भन्ने केही छैन । विवाहले नै जीवन पूर्ण हुन्छ भन्ने पनि छैन । समाजमा कति यस्ता व्यक्ति छन्, जो अविवाहित छन् । यस्ता व्यक्तिहरू पारिवारिक बन्धनबाट उन्मुक्त भएर स्वतन्त्र ढंगले जीवन बिताउन चाहन्छन् । उनीहरूकै उन्मुक्त जीवनबाट प्रभावित भएर पनि कतिपयले विवाह गर्दैनन् ।
जो गृहस्थी सम्हाल्न तयार छैनन्
विवाह गरेपछि अनेकन भूमिकामा आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ । यसलाई कतिपयले सहर्ष स्वीकार गर्दैनन् । घर, परिवार, बालबच्चा, सासूससुरा, इष्टमित्र यी सबै उनीहरूलाई अनावश्यक गञ्जागोल लाग्छ । त्यसैले यसबाट मुक्त हुन पनि उनीहरूले विवाह गर्दैनन् ।
जो भविष्यसँग डराउँदैनन्
हामीकहाँ के मान्यता छ भने बुढेसकालमा कसैको साहारा चाहिन्छ । जस्तो आफ्ना जीवनसाथी वा छोराछोरी । त्यसैले बुढेसकालमा कुनै दुःख नपाइयोस् भनेर पनि विवाह गर्नुपर्छ भन्ने धारण पाइन्छ । तर, बुढ्यौली कसरी बित्छ ? के कस्ता अप्ठ्याराहरू आउन सक्छ भनेर बुढ्यौलीसँग भयभीत नहुनेहरूले पनि विवाहलाई बेवास्ता गर्छन् ।