काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरुको सुझावपछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भएको छ । महाधिवेशन कार्यतालिकाका बारेमा शीर्ष नेताहरुबीच निरन्तर छलफल भएपनि सहमति जुट्न नसकेको हो ।
बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा छलफल भएको थियो ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा जारी छ ।
बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका पेश गर्ने एजेण्डा थियो तर शीर्ष तहमा सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले निर्वाचन निर्देशिका पेश गरेका थिए भने क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सदस्यताबारे ब्रिफिङ गरेका थिए ।
‘केन्द्रीय सदस्यहरुको सुझावपछि महाधिवेशनको कार्यतालिका आउँछ,’ प्रवक्ता शर्माले भने ।
प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक नगर्ने घोषणा गरेका देउवाले पार्टी कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ताको धर्नाका कारण आफ्नै निजी निवासमा केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
भदौ १६–१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिकाका बारेमा शीर्ष तहमा छलफल भइरहेको छ ।
कांग्रेस सभापति देउवा निर्धारित मितिमा महाधिवेशन नहुने भएपछि नयाँ कार्यतालिका ल्याउनुपर्ने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले भने क्रियाशील सदस्यता विवाद नटुंग्याएसम्म कार्यतालिका ल्याउन नहुने अडानमा छन् ।