काठमाडौं ।नेकपा एमालेका सांसद झपट रावलले सर्वोच्च अदालतको फैसला गलत लाग्छ भने राजिनामा दिन चुनाैती दिएका छन् ।पुन:स्थापित प्रतिनिधि सभा सदस्यबाट राजीनामा गर्ने आँट र हिम्मत गर्न चुनौती दिएका छन्।संविधान, लोकतन्त्र र संसदीय सर्वोच्चतालाई शासकीय अहंकारको पञ्जाबाट बचाउने नेकपा एमालेका २३ सांसदमाथि अहिले बिभिन्न माध्यमबाट विषबमन गर्ने र अतिरञ्जित ढंगले भ्रम छर्ने दुस्प्रयास भइरहेको उनले बताएका छन्।
उनले विघटनको पक्षमा हुनेहरुलाई प्रतिनिधि सभामा उपस्थित हुने कुनै नैतिक अधिकार नरहेको बताए। ‘आफैले पटक–पटक हत्या गरेको र मलामी गएको प्रतिनिधि सभामा कुन मुख लिएर आउँछौं?’ बिहीबार सामाजिक सञ्जालमा सांसद रावलले लेखेका छन्, ‘सम्मानित अदालतले हाम्रो कदमलाई उचित ठहर्यायो भनेर दिमागलाई असन्तुलित बनाउनुको सट्टा हामी नै पो गलत रहेछौं भनेर आफ्नो अनुहार ऐनामा हेर्नु नै तिमीहरुको लागि सबभन्दा उत्तम गन्तव्य हो।’
यस्तो भ्रमपूर्ण प्रचारका दुई कारण देखिएको उनको ठम्याइ छ। पहिलो, आफ्नो असंवैधानिक कृत्यलाई कम्तिमा कार्यकर्ता पंक्तिमा स्थापित गर्नु। दोस्रो, पछिल्लो पटक बन्दै गएको नेकपा एमालेको एकताको वातावरण समाप्त पार्नु। यस्तो स्वार्थबाट प्रेरित भएर आफूहरुमाथि नियोजित कु प्रचार गरिएको उनको भनाइ छ।
‘यस्ता आधारहीन, मनगढन्ते र पार्टी एकताबिरोधी प्रचारले हामीलाई कुनै बिचलित पार्न नसक्ने स्पष्ट पार्दै हामीहरुले चालेको कदमलाई सम्मानित अदालतले सदर, सम्मान र आदर गरेको तथ्यले हामी सही बाटोमा थियौं भन्ने कुरालाई दुनियाँसामु स्पष्ट गरेको कुरा सबैमा स्मरण गराउन चाहन्छौं’ उनले भनेका छन्।
नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने एक मात्र थलो प्रतिनिधि सभालाई षड्यन्त्रपूर्ण ढंगले विघटन गर्ने देखिएपछि त्यस्तो षड्यन्त्रलाई विफल पार्न आफूहरुले अन्य राजनीतिक दलहरुसँग गठबन्धन गरेको उनले बताएका छन्।
यति गर्दागर्दै पनि शासकीय अहंकारको सीमा नाघेर जालसाँजीपूर्णढंगले संसद विघटन गरेपछि २३ सांसद गठबन्धनसहित अदालतसम्म पुगेको उनले स्मरण गरेका छन्।
संसद विघटन संविधानले आत्मसात् गरेको लोकतान्त्रिक आदर्श, मूल्यमान्यता, संविधानवाद तथा संवैधानिक नैतिकताअनुकूल नभएको उनले बताए। उनले भनेका छन्, ‘संसद विघटन यतिमै रोकिनेवाला थिएन। यसबाट मुलुकमा निम्त्याउने राजनीतिक र संवैधानिक संकट उत्पन्न गराउने र त्यहाँभित्र खेलेर संविधान र लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्ने अभिष्टका साथ संसद विघटन गरिएको तथ्यहरुले प्रमाणित गरिसकेका छन्।’
भयानक षडयन्त्रलाई चकनाचुर पार्दै मुलुकको राजनीतिलाई फेरि मूलबाटोमा फर्काउन आफूहरुले पहलकदमी लिएको र त्यसमा सफल हुँदा नेपालको आधुनिक राजनीतिक इतिहासमा एउटा गर्विलो इतिहास खडा भएको उनले उल्लेख गरेका छन्।